देशभरका विमानस्थललाइ साढे ४५ अर्ब स्वीकृत, नागिडाँडालाई २५ कराेड, निजगढलाई कति ?

  २०७५ साउन ३१ गते १७:०८     खेमराज श्रेष्ठ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नागरिक उड्ययन प्राधिकरणको चालु आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । मन्त्रालयले प्राधिकरणका लागि ४५ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको हो ।

कुल बजेटको ८९ प्रतिशत रकम पुर्वाधारमा खर्च हुने र बाँकी ११ प्रतिशत रकम कर्मचारीको तलब सुविधामा उपयोग हुने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “यस वर्षको लागि हामीले प्रस्ताव गरेको बजेट मन्त्रालयले पास गरेको छ, अब नयाँ आर्थिक वर्षका लागि काम धमाधम अघि बढ्नेछ, श्रेष्ठले विकासन्युजसँग भने हामीले यो वर्ष राष्ट्रिय गौरवको आयोजनालाई विशेष महत्व दिएका छौं ।”

उनका अनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ३ विमानस्थलको लागि २१ अर्ब रुपैंया विनियोजन गरिएको छ । यसमा पोखरा क्षेत्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तराष्ट्रिय विमानस्थल रहेका छन् ।

यसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०१९ को अन्त्य सम्ममा सञ्चालनमा ल्याउने गरी काम भैरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको चाप बढेपछि प्राधिकरणले तिब्र गतिमा सो विमानस्थललाई अघि बढाएको हो । अहिलेकै अवस्था अनुसार कामको गति अघि बढ्ने हो भने आगामी वर्षको अन्त्य सम्ममा विमानस्थल सञ्चालनमा ल्याउन सकिने श्रेष्ठले बताए ।

विमानस्थलको समग्र ५० प्रतिशत भन्दा बढी काम भैसकेको आयोजना प्रमुख ओमनारायण शर्माले बताए । ‘अहिले विमानस्थलमा पार्किङ, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायत पुर्वाधारको काम भैरहेको छ, शर्माले भने वर्षा रोकिने बित्तिकै रनवे पिचको काम हुन्छ ।’

उनका अनुसार रनवेमा पिच बाहेकका सबै काम सकिइसकेका छ । रनवे पिच गर्नका लागि ५ देखि ७ महिनासम्म लाग्नेछ । प्रशासनिक भवनको अन्तिम चरणको काम भैरहेको छ । कन्ट्रोल टावरको पाचौं तलाको काम भैरहेको शर्माले बताए । धावनमार्गको पिच चैत सम्ममा सकिए आगामी वर्षको असारसम्ममा विमानस्थल तयार हुनेछ ।

विमानस्थल निर्माण गर्न चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ । कम्पनीले २ सय जना चिनियाँ कामदार झिकाएर धमाधम काम गरिरहेको छ ।

धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम अन्तिम चरणमा पुगेको छ । अहिले अन्तिम चरणको बिटामिन लेयरको काम भैरहेको छ । यसैगरी निगढ र पोखारा विमानस्थलको पनि काम अघि बढ्नेछ ।

नागीडाँडामा इआइए पास भएपछि काम अघि बढ्ने

प्राधिकरणले नागिडाँडामा बन्ने आन्तरिक विमानस्थलका लागि २५ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरेको छ । श्रेष्ठका अनुसार नागिडाँडामा हाल वातावरणिय प्रभाव मूल्याङकनको काम भैरहेको र यो काम सकिएपछि दोस्रो चरणको काम अघि बढ्नेछ ।

प्राधिकरणको ध्यान त्रिभुवन विमानस्थलमा

प्राधिकरणले त्रिभुवन विमानस्थल सुधार गर्नका लागि विशेष ध्यान दिने भएको छ । विमानस्थलको रनवे, पार्किङ र हेलिप्याड बनाउने भएको छ । बंगलादेशी विमान दुर्घटना भएको क्षेत्रमा हेलिप्याडको निर्माण गर्नेछ । हेलिप्याड निर्माणको लागि प्राधिकरणले २५ करोड रुपैंया विनियोजन गरेको छ । यसैगरी कोटेश्वर तर्फको जमिनमा पार्किङ निर्माण गर्नेछ ।

नयाँ विमानस्थलमा प्राधिकरणले ध्यान नदिने
प्राधिकरणले धमाधम विमानस्थल बन्द हुन थालेपछि अब नयाँ विमानस्थल निर्माणका लागि ध्यान नदिने भएको छ । प्रवत्ता श्रेष्ठका अनुसार हाल २२ वटा आन्तरिक विमानस्थल बन्द रहेका छन् । यसबाट सरकारको अर्बौ लगानी खेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.