लघुवित्तहरुमा देखिएका समस्यालाई समयमै सुधार गर्नुपर्छ- अर्थमन्त्री खतिवडा

  २०७५ साउन २८ गते १८:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरुलाई समयमै सुधार गरी सामाजिक जिम्मेवारी भित्र रहेर कार्य गर्न आग्रह गरेका छन् । उनले लघुवित्त संस्थाहरु ग्रामीण क्षेत्र र वित्तीय पहुँच नपुगेको वर्गमा जानुपर्नेमा जोड दिएका छन् ।

स्वावलम्बन विकास केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले हालै विश्व बैंकले समेत नेपालको गरिवी न्यूनिकरणमा देखिएको विकासमा खुसी व्यक्त गरेको बताए । उनले सामाजिक-आर्थिक रुपान्तरण उद्यमशीलता तथा प्रविधिको विकास विना सम्भव नभएकाले लघुवित्त संस्थाहरु त्यसतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् ।

समारोहका सभापति तथा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले हालका दिनमा लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्तको मूल मर्म र उद्देश्य भुल्दै गएको बताए । उनले केन्द्रले अबका दिनमा विकराल बन्दै गएको बेरोजगारी समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानको प्रयास गर्ने बताए जुन बंगलादेशको ग्रामीण ट्रष्टले विगत देखि संचालन गर्दै आएको छ ।

समारोहमा अर्थमन्त्री खतिवडाले केन्द्र तथा ग्रामीण ट्रष्ट, बंगलादेशले संयुक्त रुपमा आयोजना गरेको ग्रामीण वित्तीय पद्दती विषयक अन्तराष्ट्रिय कार्यक्रमको अवसरमा प्रकाशित “ What we can learn from the Grameen Bank ” अंग्रेजी प्रतिवेदन विमोचन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.