गोदावरीदेखि फुलचोकी डाडाँसम्म सिद्धेश्वर पर्यटन सहकारीले केबलकार बनाउने, लागत १ अर्ब ४१ करोड

  २०७५ साउन २७ गते १८:४६     विकासन्युज

काठमाडौं । ललितपुरकाे गोदावरीदेखि फुलचोकी डाडाँसम्म केवलकार निर्माण हुने भएको छ । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले ‘हाम्रो गोदावरी–राम्रो गोदावरी’ निर्माण गर्ने क्रममा केवलकार सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए ।
उनले गोदावरी फुलचोकी केबलकार निर्माण तथा सञ्चालनका लागि नगरपालिकाले कुनै कसरी बाँकी नराख्ने पनि स्पष्ट पारे ।

गोदावरी नगरपालिकाका उप–प्रमुख मुना अधिकारीले फुलचोकी एकीकृत विकास कार्यक्रमले अगाडि सारेको कार्यक्रम आफ्नो निर्वाचनका बेलाको सपना समेत रहेकाले केबलकार निर्माण गरेरै छाड्ने बताइन् । गोदावरी नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष वालमुकुन्द घिमिरेले गोदावरी क्षेत्रमा केवलकार लगायतका कार्यक्रम सञ्चालन गर्नका लागि सरकारबाटै स्वीकृति लिएर गर्ने भएकाले कोही कसैको टाउको दुखाईको विषय नरहने दावी गरे ।

वातावरणविद रवि भट्टराईले गोदावरीमा केवलकार सञ्चालन सम्बन्धी वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदन स्वीकृतीको प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । गोदावरी–फुल्चोकी केबलकार बनाउन सिद्धेश्वर पर्यटन सहकारी संस्थाले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत आफ्नो लगानीमा २.९ किलोमिटरको मोनो केबलकार बनाउन लागेको हो ।

केबलकारको सुरु बिन्दु रहेको बोटानिकल गार्डेनमा मात्रै वार्षिक ३ लाख ६० हजार घुम्न जाने गरेका छन् । तीनै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर गोदावरी फुलचोकी केबलकार निर्माण गर्न लागिएको हो । केबलकार समुद्री सतहबाट १ हजार ५३० मिटर उचाईबाट सुरु भएर फुल्चोकी डाँडाको २ हजार ६२० मिटरमा पुगेर टुंगीनेछ । केबलकारको निर्माण लागत १४१ करोड रुपैयाँ हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.