२०७५ साउन २५ गते ११:४५ नारायण पौडेल
काठमाडौं । सरकारले त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडक यथास्थितीमै कालोपत्रे गर्ने निर्णय गरेको छ । सरकारले यस्ताे निर्णय गरेपछि सडक विस्तार आयोजनाले सोही बमोजिम कार्ययोजना समेत तयार पारिसकेको छ ।
सडक विस्तार सम्बन्धमा सर्वाेच्च अदालतको निर्णय, नागरिकले भोग्नु परेको सास्ती लगायतका कारण देखाई साउन १० गते बसेको मन्त्रिपरिषद बैठकले यथास्थितिमै सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो ।
‘मन्त्रीपरिषदको निर्णय बमोजिम सडक कालोपत्रे गर्ने योजना बनाउन हामीले सम्बन्धित ठेकेदारहरुलाई परिपत्र गरिसकेका छौं, चालु आर्थिक बर्षभित्र उपलब्ध चौँडाईमा कालोपत्रे भैसक्छ’, सडक विभागको सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले विकासन्युजसँग भने ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक १२.४८ किलोमिटर लम्बाईको छ । त्यस्तै, चावहिल–जोरपाटी–साँखु–सडक पनि यथास्थितीमै कालोपत्रे हुँदैछ । सो सडक खण्ड पनि १२.५० किलोमिटर लामो नै रहेको छ ।यी दुई सडकको कुल लम्बाई २४.९८ किलोमिटर छ तर यसमा २७ सय ३५ वटा अवरोध रहेका छन् ।
त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा १ हजार १४९ वटा अवरोध रहेका छन् । त्यस्तै, चावहिल–जोरपाटी–साँखु सडकमा १ हजार ५ सय ८६ वटा अवरोध रहेका छन् । २०७४ असोज २ गते सर्वाेच्च अदालतको फैसला र त्यसको पुर्ण पाठले सडक विस्तार अभियानमा झनै समस्या थपिदिएपछि सरकारले यथास्थितीमै कालोपत्रे गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले बताए ।
उनै प्रस्तावमा मन्त्रीपरिषदले त्रिपुरेश्वर कलंकी नागढुंगा र चावहिल जोरपाटी साँखु सडक यथास्तितिमै कालोपर्ने गर्ने निर्णय गरेको थियो ।१५ दिनभित्र यी दुबै खण्डलाई हिलो धुलो र खाल्डाखुल्डी मुक्त बनाउन निर्देशन दिईसकेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.