आठ देशका नागरिकलार्इ अमेरिका जान राेक, राष्ट्रपति ट्रम्प प्रसन्न

  २०७५ असार १३ गते १६:३३     विकासन्युज

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ ।

राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्धा सर्वोच्च अदालत पुगेको थियो ।

विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए । तर मङ्गलबार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्धाको फैसला न्यायाधीशको बहुमत सङ्ख्याको आधारमा गरिएको बताइएको छ ।

उक्त मुद्धाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम देश बाहुल्य भएका र अरु २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एकपछि अर्को गर्दै विभिन्न विषयमा उनका निर्णयहरु विवादमा परेका र अधिकांश त बदर नै भइरहेका छन् ।

कतिपयले उनको कार्यकाललाई विवादास्पद भनिरहेका छन् । तर यो फैसला भने ट्रम्पको पक्षमा आएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले यो पछिल्लो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा पनि लिएका छन् ।

राष्ट्रपति ट्रम्प प्रसन्न

विभिन्न छ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गरेका हुन् । यस फैसलाप्रति उनले प्रसन्नता व्यक्त गरेका अमेरिकी सञ्चारले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णय मात्र नभएर एक किसिमले भन्ने हो भने राष्ट्रपतीय निर्वाचनको एजेण्डा नै हो भन्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गरेका हुन् । यसअघिका तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीट अकाउन्टमा अदालतको यस फैसलालाई ठूलो सफलता हो भनेका छन् । अहिले पनि ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका विरुद्धमा कडा रुपमा प्रस्तुत भइरहेको थियो ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पनि संक्षिप्त प्रतिक्रिया दिने क्रममा अदालतको आदेशको स्वागत गरेका थिए । उनले सो प्रतिक्रियामा भने-“हामी हाम्रो देशको सुरक्षाको लागि जति कडा हुनुपर्छ त्यति नै हामीले हुन पाउनुपर्छ । आफ्नो देशको सुरक्षा हाम्रो अधिकार र दायित्व हो त्यसैले जसरी हामी सुरक्षित हुन सक्छौँ त्यो मापदण्ड हामीले पूरा गर्न पाउनुपर्छ ।’’ रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.