टेलिकमले विद्यार्थीलाई मिदास ई-क्लास सेवा दिने, मंगलबारदेखि उपभोग गर्न सकिने

  २०७५ असार ११ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई-क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो एक प्लेटफर्म हो ।

उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्रीहरु श्रब्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने अपेक्षा गरिएको छ । विद्यालयमा पढ्नु पर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन् । टेलिकमका ग्राहकहरुले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास ई-क्लास प्रयोग गर्न सक्ने छन् ।

मिदास ई-क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा १० सम्मका विभिन्न विषयहरु समावेश गरिएको छ । मिदास ई-क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुको वारेमा अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्ने छन् । शिक्षकले बिद्यार्थीका लागि आवश्यक पाठ्य सामग्री यसैमार्फत उपलब्ध गराउन सक्नेछन् । त्यसैगरी, अभिभावकले पनि शिक्षकसँग अन्तरक्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन सक्नेछन् । मिदास ई-क्लासको प्रयोग गर्नका लागि गुगल प्ले स्टोरमार्फत मिदास ई-क्लास एप डाउनलोड गर्नुपर्छ ।

यो सुविधा मिति २०७५ असार १२ देखि उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ र मासिक २५० रुपैयाँमा यो सुविधा खरिद गर्न सक्ने छन् । यो सुविधा उपभोग गर्न वाइफाई वा मोबाइल डाटा सेवा आवश्यक पर्छ । मोबाइल डाटा प्रयोग गर्दा डाटाको अतिरिक्त शुल्क लाग्ने छ । टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकहरुको प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.