एनएमबी बैंकको एफपीओलाई संस्थागत लगानीकर्ताले नि पत्याएनन्, सञ्चय कोष पछि हट्यो !

  २०७५ असार १० गते १७:३३     विकासन्युज

काठमाडौं । संस्थागत लगानीकर्ताले पनि एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा चासो देखाएका छैनन् । संस्थागत लगानीकर्तालाई खुला गरेपनि हालसम्म बीमा, म्युचअल फण्ड र केही इन्भेष्टमेन्ट कम्पनी गरी ५२ संस्थाले २२ करोड रुपैयाँको एफपीओ मात्र खरिदका लागि आवेदन दिएका छन् ।

संस्थागत लगानीकर्ताले चासो नदेखाएपछि प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सकार्नुपर्ने अवस्था आउने संकेत देखिएको छ । लगानीको सीमा हटाएर ५० लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गर्दा पनि बिक्री हुन सकेको छैन् । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ ।

कर्मचारी संचय कोषले एफपीओ खरिद गर्ने बताए पनि संस्थापक नभएकाले पछि हटेको बुझिएको छ । संचय कोषका प्रशासक तुल्सी गौतमले एनएमबीको सेयर किन्ने विषयमा कुरा नै नभएको बताएका छन् । असार २८ गतेसम्म पनि एफपीओ बिक्री नभए एक पटक संस्थापक लगानीकर्ता अवसर पाउने र त्यसपछि पनि बिक्री नभए अण्डरराइटले सकार्ने छन् ।

नागरिक लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरआरबी मर्चेन्ट बैंकिङ लिमिटेडले सकार्ने छन् ।

आइतबारसम्म २ अर्ब ४० करोडा रुपैयाँ बराबरका लागि आवेदन परेको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । ६० हजार आवेदकबाट ७२ लाख ७ हजार २०७ कित्ताका लागि आवेदन परेको कोषले जनाएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआईसी एसिया म्युचअल फण्डले एफपीओका लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर विभाग प्रमुख रोशनजंग कार्कीले बताए ।

हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ खरिदका लागि वुधबार नै आवेदन दिएका थिए ।

उनकाअनुसार सानिमा म्युचअल फण्ड, एनआईबीएल म्युचअल फण्ड, लक्ष्मी म्युचअल फण्डले समेत एफपीओ किन्न आवेदन दिएका छन् । बीमा कम्पनी र म्युचअल फण्डले न्युनतम २५ हजारदेखि १ लाख कित्तासम्मका लागि आवेदन दिएको कार्कीले बताए ।

पहिलो ४ दिनमा पनि बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।

बैंकको सेयर मूल्य पनि निरन्तर गिरावट आएको छ । आइतबार बैंकको प्रतिकित्ता ३४९ रुपैयाँमा कारोबार भएको छ । एफपीओ निष्कासन भएपछि निरन्त रुपमा बैंकको सेयर मूल्य घटेको छ । एफपीओको भन्दा बजार मूल्य १६ रुपैयाँ मात्र बढी छ । महंगो मूल्यमा सेयर बेचेर एफपीओ किन्न लाग्दा बजार पनि घटेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.