धरहरा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई

  २०७५ असार ८ गते १४:१७     विकासन्युज

काठमाडौं । धरहरा निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने पक्का भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा चिनियाँ कम्पनीले मात्रै आवेदन दिएका छन । धरहराको निर्माणका लागि परेका ६ वटा आवेदनमध्ये सबै चिनियाँ कम्पनी रहेको प्राधिकरणको सम्पदा संरक्षण महाशाखा प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

‘नेपाली कम्पनीहरुको नेतृत्वमा ६ वटा चिनियाँ कम्पनीहरुको आवेदन आएको छ, हामी अध्ययन गरिरहेका छौं’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख मानन्धरले विकासन्युजसँग भने । एक हप्ताभित्र प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक छनौटमा परेका कम्पनीहरुको वित्तिय प्रस्ताव खोलिनेछ । न्युन मूल्यमा निर्माण गर्न प्रस्ताव गरेको कम्पनीले धरहरा निर्माणको जिम्मेवारी पाउनेछ ।

आवेदन दिने सबै कम्पनीमा चिनियाँ सहभागीता रहेसँगै अब धरहराको निर्माण चिनियाँ कम्पनीले नै गर्ने पक्का भएको छ । भवितब्य केहि नभएमा यीनै ६ वटा कम्पनीमध्येबाट एउटा कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ । पछिल्लो समय नेपालको विकास तथा पूर्वाधारमा संलग्नता बढाउँदै आएको चीनले धरहरा निर्माणमा पनि ठूलो चासो देखाएको स्पष्टै हन्छ ।

नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ ।

४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्ट राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ ।

धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.