बाणिज्य बैंकहरु १२.५ प्रतिशतमा निक्षेप माग्ने, राष्ट्र बैंक तिनै बैंकबाट ३ प्रतिशतमा अर्बौ लिने, बिहीबार ३ अर्ब उठाउदै

  २०७५ असार ६ गते १९:०६     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले लगानी गर्न पुँजी नभएको भन्दै निक्षेपको ब्याजदर बढाइरहेका बेला केन्द्रीय बैंकले अधिक तरलता रहेको भन्दै बजारबाट अर्बौ रुपैयाँ उठाएको छ । बुधबार र बिहीबार दुई दिन नेपाल राष्ट्र बैंकले दुई साताको निक्षेप संकलन उपकरणमार्फत विभिन्न ८ बैंकबाट ७ अर्ब ३० करोड रुपैयाँ उठाएको हो ।

मंगलबार ७ अर्ब १० करोड र बुधबार २० करोड रुपैयाँ उठाएको हो । राष्ट्र बैंकले बैंकलाई ३ प्रतिशत ब्याज दिन्छ । बुधबार र बिहीबार दुई साताको निक्षेप संकलन उपकरण मार्फत १८ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भएको तरलता प्रशोचनको तयारी गरेको थियो । अन्त्यमा ७ अर्ब ३० करोड रुपैयाँमा मात्र उठेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैैंक ब्याजदर घटेर ३ प्रतिशत कम रहेको राष्ट्र बैंकले जनाएको छ ।

तरलता बढी भएपछि अन्तर बैंक ब्याजदर घट्ने राष्ट्र बैंकको भनाई छ । राष्ट्र बैंकले तरलता प्रशोचन गरेपनि बिहीबार मात्रै बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको जानकारी दिएको छ । ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत भन्दा कम भए बैंकबाट पैसा तान्ने गरिन्छ ।

राष्ट्र बैंकले बिहीबार फेरी निक्षेप संकलन उपकरणमार्फत थप ३ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले असार २१ गते फिर्ता हुने गरी थप रकम उठाउन लागेको हो । यो समेत गरी ३ दिनमा केन्द्रीय बैंकले ३ पटक गरी २१ अर्ब रुपैयाँ तरलता प्रशोचनको प्रयास गरेको छ ।

राष्ट्र बैंकले अधिक तरलता हुदा अन्तर बैंक ब्याजदर घटेको भन्दै बजारमा पैसा तान्ने तयारी गर्दा बैंकहरु संस्थागत निक्षेपकर्ताबाट महंगो ब्याजमा निक्षेप उठाइ रहेका छन् । पछिल्लो समयमा केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याइसकेका छन् ।

सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुल्सिराम गौतम केही बैंकलाई तरलताको अवस्थामा सहज भएपनि अधिकाँशलाई समस्या देखिएको बताउछन् । “निक्षेप बढाउन व्यक्तित मुद्धतिमा साढे १२ प्रतिशतसम्म ब्याज दिएर रकम उठाउदै छौं” उनले भने “तरलताको अवस्था सहज भएको भए यति महंगो ब्याजदरमा निक्षेप उठाउनु पर्ने थिएन् ।” तरलताको समस्यालाई समग्रता हेरिनु पर्ने उनी बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.