अन्तरिम आदेश, सीमा विवादले अवरुद्ध चाबहिल–जोरपाटी–साँखु सडक, विस्तार कहिले सुरू होला ?

  २०७५ जेठ ६ गते १९:४९     विकासन्युज

काठमाडौ । घाम लाग्दा धुलो उडेर बाटो देख्न नसकिने र पानी पर्दा रोपाइँ गर्न तयार पारेको खेतको गराजस्तो सडक हुँदा पनि विस्तारको काम अलपत्र छ । यो अवस्था चाबहिल–जोरपाटी–वाग्मती पुल–साँखु सडकको हो । सडकको दायाँबायाँ केही घर भत्काउने काम पनि भइरहेको छ । तर सकिएको छैन ।

भत्काउन शुरु नभएका घर कहिले भत्कने हो टुंगो छैन । चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सडक बिस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स प्रालिसँग सम्झौता भएको थियो ।

अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ । दायाँ भागमा सडक बन्नुअघिको राजकुलो मिचेर व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ । आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ पुरानो र नयाँ नापीका बारेमा विवाद भएर घर नभत्केको बताउछन् । जोरपाटी ओरालोसम्म यो विवाद कायमै छ ।

बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल चुहावट भएर सडकमा फोहर पानी जम्ने गरेको छ । वर्षाद्का समयमा बाढीले बौद्ध क्षेत्रमा सवारी चल्दैन । खानेपानी र ढल चुहिँदा यो क्षेत्रको सडकमा धेरै खाल्डाखुल्डी छन् । अझ दायाँबायाँ भत्काउँदै गरिएका घरको धुलो र हिलोले सडकमा निस्कन नसकिने अवस्था रहेको स्थानीय पार्वती तामाङ गुनासो गर्छन ।

वाग्मती पुलबाट थलीसम्मको २.४ किमी सडक विस्तार तीन वर्षमा ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७२ असोज १३ गते नै सम्झौता भएको यो सडक आगामी पुस १४ सम्म विस्तार सक्नुपर्छ । बज्रगुरु÷च्याङ्मिला÷खानी जेभीले काम गरिरहेको यो खण्डमा दक्षिणढोकाका २३ घरको अन्तरिम आदेशका कारण घर भत्काउन नसकिएको सूचना अधिकारी श्रेष्ठले सुनाए।

मूलपानी क्षेत्रमा सडकको अधिकार क्षेत्रको विवाद छ । यो क्षेत्रमा पनि विद्युत् र टेलिफोनको तार हटेको छैन । मूलपानीमा वनको रुखका कारणसमेत काममा ढिलाइ भएको छ । थलीबाट खुलालटारसम्म तीन किमीको खण्डमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले घर भत्काउन क्षतिपूर्ति दिन ढिलाइ गरेको आयोजनाले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने क्षतिपूर्ति दिन करोडौँ लाग्ने भए पनि सरकारले बजेट उपलब्ध गराउन नसकेको बताउछन् । थली क्षेत्रका ३८ घरले सर्वोच्च अदालतबाट अन्तरिम आदेश गराएकाले काम हुन सकेको छैन ।

आयोजनाका प्रमुख दीपक केसी प्राधिकरणले सडक अधिकार क्षेत्रको रेखांकन, क्षतिपूर्ति दिएर घरटहरा हटाउने काम नसकेकाले कालोपत्र गर्न नपाएको बताए। यसका कारण चाबहिलबाट साँखुसम्म घाम लागेका बेला धुलाम्य र पानी परेका समयमा हिलाम्य हुने गरेको छ । डाँछी तथा ब्रह्मखेल क्षेत्रमा सडकको सीमा विवाद छ । यहाँ पनि विद्युत् र टेलिफोनका तार हटेको छैन ।

खुलालटारबाट सलम्बुटारसम्मको २.४६ किमी क्षेत्रमा ५१ घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिटी÷सुनकोशी÷वल्र्डवाइड जेभीले निर्माण जिम्मेवारी पाएको यो खण्डको इन्द्रायणी र सलम्बुटार क्षेत्रमासमेत सडकको सीमा विवाद छ । विद्युत् र टेलिफोनका पोल एवं तार यो क्षेत्रमा हट्न सकेको छैन ।

लामा÷समानान्तर जेभीले निर्माण गरिरहेको करिब एक किमी साँखु क्षेत्रका केही घरमासमेत अन्तरिम आदेश जारी भएको छ । अन्तिम खण्डको ६०० मिटर क्षेत्रमा बिस्तारका कुनै काम गर्न नदिने भनी स्थानीयवासीले अवरोध गरेका छन् । साँखु क्षेत्रमा पनि विद्युत् र टेलिफोनका पोल एवं तार हटेका छैनन् ।

स्थानीय हरिराम श्रेष्ठ उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै सर्वोच्चमा मुद्दा दिइएको बताउनुहुन्छ । १२.५० किमी सडक बिस्तार गर्न वर्षौं लाग्ने भएको छ । केही खण्डको समय सकेर एक वर्ष थप गरिएको आयोजनाले जनाएको छ ।

सर्वोच्च अदालतले गत असोज १३ गते सडक विस्तार सम्बन्धमा परेका मुद्दाको पैसला गरे पनि पूर्णपाठ नआउँदा पनि काममा ढिलाइ भएको छ । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थी केही महिनामै पूर्णपाठ दिइने बताए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.