पूर्वाधारमा एक करोड ५० लाख बढी लगानी, पर्यटनकाे विकासमा जाेड

  २०७५ वैशाख १५ गते १७:०५     नारायण ढुंगाना

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सौराहा र कुमरोजको पर्यटनलाई जोडेर पर्यटन पूर्वाधार विकासमा लगानी बढाएको छ । खैरहनी नगरपालिकाको धेरै क्षेत्र पर्यटकीय सम्भावना बोकेकाले यसतर्फ ध्यान केन्द्रित गरी पर्यटन पूर्वाधारमा लगानी बढाएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले पहिलो चरणमै नगरपालिकाले यहाँका विभिन्न क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासका लागि एक करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्न लागेको छ । पर्यटकलाई एकरात खैरहनीमै राख्ने योजनाका साथ पर्यटन पूर्वाधारमा लगानी बढाइएको हो । केही योजना शुरुसमेत भइसकेका छन् । “कतिपय कार्यक्रम शुरु भए, कतिपय शुरु हुन बाँकी छ, नगरप्रमुख चौधरीले भने, अब एकदिन पर्यटकको बास खैरहनीमै राख्ने गरी पर्यटकीय पूर्वाधार बनाइन्छ ।”

चितवनको खैरहनी नगरपालिकाको कुमरोज क्षेत्र सौराहापछिकै पर्यटकीय केन्द्रका रुपमा विकास भइरहेको छ । पर्यटकले सौराहामा पाउने मनोरञ्जन लगभग सबै कुमरोजमा नै पाइने कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङ बताउँछन् । त्यसैले सौराहासँग जोडेर खैरहनीको कुमरोज, कठार लोथर र कंकालीकोटसम्मको पर्यटक पूर्वाधार विकासमा खैरहनी नगरपालिका लागेको छ ।

नगरपालिकाले दिएको जानकारीअनुसार पूर्वी चितवनको कंकाली क्षेत्रमा यसअघि निर्माण भएको वनभोज स्थलको स्तरोन्नति गरी पर्यटकीय पूर्वाधार निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएकोे छ । यहाँ भइरहेको संरचनालाई मर्मत सम्भार गरी आकर्षक पार्क बनाइने नगरप्रमुख चौधरीले बताए ।

यस्तै ५९ लाख रुपैयाँमा कंकाली सामुदायिक वनको माथि दुईवटा भ्यू टावरसमेत बनाइँदै छ । कंकाली पार्कबाट कंकालीगढी जानका लागि पर्यटकलाई आगामी वर्ष घोडा सयर गराउने योजना रहेको चौधरी बताउँछन् । कंकाली र अजिङ्गरे क्षेत्रमा आकर्षक पोखरीसमेत निर्माण गरेर डुंगा सञ्चालन गर्ने योजनासमेत खैरहनी नगरपालिकाले अघि सारेको छ ।

पर्यटकीय क्षेत्र कुमरोजमा अहिले पनि पर्यटकले हात्ती, जिप तथा डुंगा सफारीमा पर्यटक रमाउँदै आएका छन् । यहाँ आएका पर्यटक बाघ, गैँडा, हात्ती, चित्तललगायत संरक्षित वन्यजन्तु अवलोकन गर्न सक्छन् भने राप्ती नदीमा डुंगा सयर गरेर सुतिरहेका गोही र पानी खान आएका वन्यजन्तु सजिलै देख्न सक्छन् ।

कुमरोजमा अझै पर्यटकीय पूर्वाधार विकासका लागि भनेर अहिले खैरहनी नगरपालिकाले ४० रुपैयाँ लाख बजेट विनियोजन गरेको छ । उक्त रकमले टावर निर्माण गरिने छ । यहाँ रहेको बोटे ताल र दराई तालको पुनःनिर्माणका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको नगरपालिकाले जानकारी दिएको छ ।

यस्तै कठारको कुचकुचे मध्यवर्ती सामुदायिक वनमा समेत पर्यटन प्रवद्र्धनका लागि जिप सफारी शुरु भइरहेको नगरप्रमुख चौधरीले बताए । अब कुमरोज, कुचकुचेर कंकालीलाई जोडेर खैरहनीको पर्यटकमा नयाँ आयाम थपिने विश्वास नगरपालिकाको छ । पूर्वाधार निर्माणपछि खैरहनीले होमस्टेको विकासमा ध्यान दिने जनाइएको छ ।

हाल पनि चितवनको कुमरोज, कठार क्षेत्रमा दुई दर्जन होमस्टे सञ्चालन भइसकेका छन् । बूढीराप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमिल्सिनाले यहाँको होमस्टेमा पर्यटक आएर बस्ने गरेको बताएका छन्।

कुमरोजमा ठूला होटल निर्माणको क्रमसमेत शुरु भएकाले पर्यटकीय गतिविधि बढ्दो रहेको कुमरोज वनका अध्यक्ष हिराबहादुर गुरुङले जानकारी दिए । उता जिप सफारी र शुरु भएपछि कठार क्षेत्रमा समेत पर्यटकीय चहलपहल बढेको स्थानीय संरक्षणकर्मी एवं नेचर गाइड रामेश्वर चौधरीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.