त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइन दश महिना भित्रै पूरा हुने

  २०७५ वैशाख ५ गते १३:५०     विकासन्युज

नुवाकोट । निर्माणाधीन त्रिशूली-काठमाडौं २२० केभी ‘डबल’ प्रसारण लाइनको काम पछिल्लो समय तीव्र बनाइएको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने उद्देश्यले १४ फागुन, २०६८ देखि निर्माण शुरु भएको उक्त प्रसारण लाइन निर्माणमा पछिल्लो समय तीव्रता दिइएको हो ।

दुई सय २० केभीको दोहोरो सर्किट प्रसारण लाइनको १४२ वटा टावरमध्ये ११० को फाउण्डेशन तयार भइसकेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका उपप्रबन्धक इ.सत्यराम ज्याख्वाले जानकारी दिए । “फाउण्डेशन बनाइएकामध्ये ६४ वटामा तार जोड्ने काम सकिएको छ ।” ज्याख्वाले भने, “मातातीर्थस्थित केन्द्रीय प्रसारण लाइन पुर्याउन भूमिगत प्रसारण लाइनका लागि एक किमी सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।”

उनको अनुसार प्रसारण लाइनको निर्माण अहिले ५५ प्रतिशत पूरा भएको र तेस्रो पटक थप भएको म्यादअनुसार माघ २०७५ भित्र सम्पन्न गर्ने लक्ष्य पूरा गर्न काममा तीव्र बनाइएको छ ।

थ्री ‘ए’ आयोजनाले २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले सोही समय अगाडि नै प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ । तोकिएको समयमा प्रसारण लाइन पूरा नभएमा थ्री ‘ए’ ले उत्पादन गर्ने विद्युत् खेर जाने जोखिम देखिन्छ ।

नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत्लाई एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन लि (सिडब्लुई)ले गर्दै आएको छ ।

यो प्रसारण लाइनमार्फत यहाँका दुई जिल्लामा निर्माण भइरहेको रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली-१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्ये त्रिशूली गंगा, गल्छी-त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना बनाइएको छ ।

दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको प्रसारण लाइन विस्तारको कामको अनुगमन तथा व्यवस्थापन थ्री ‘ए’ आयोजनामार्फत भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.