विद्युत उत्पादन बढ्दो, ९ महिनामा १४ आयोजनाबाट १०० मेगावाट थप

  २०७५ वैशाख ३ गते १३:२३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म सार्वजनिक र निजी क्षेत्रबाट गरी १०० मेगावाट बिजुली उत्पादन थप भएको छ । साउनयता १४ आयोजना सम्पन्न भई सो परिमाणमा बिजुली उत्पादन थप भएको हो ।

यी आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । सार्वजनिक क्षेत्रबाट ३० मेगावाटको चमेलिया आयोजना सम्पन्न भएको छ । हालसम्म निजी क्षेत्रबाट १३ आयोजना सम्पन्न भई ७० मेगावाट बिजुली थप भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

निजी क्षेत्रबाट माइभ्याली हाइड्रोपावर प्राइभेट लिमिटेडले ५.१ मेगावाटको अपरमाई सी, द्रोणाञ्चल हाइड्रोपावरले ६०० किलोवाटको ढुङेजिरी, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, ४ मेगावाटको पुवाखोला १ हाइड्रोपावर, शिवानी हाइड्रोपावरले ४.९ मेगावाटको फावाखोला, माउन्ट कैलाश इनर्जी लिमिटेडको १३.६ मेगावाटको थापाखोला छन् ।

यस्तै मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सर्दिखोला, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, युनियन हाइड्रोपावरको ३ मेगावाटको मिदीमखोला, सिउरीभुमे माइक्रो हाइड्रको २३ किलोवाट, मोलुङ हाइड्रोपावरको ७ मेगावाटको मोलुङखोला, सिकलेस हाइड्रोपावरको १३ मेगावाटको मद्क्युखोला र हिमाल दोलखा हाइड्रोपावरको ८ मेगावाटको माइसाना क्यासकेड आयोजना रहेका छन् ।

निजी क्षेत्रमार्फत हालसम्म विभिन्न ७३ आयोजनाबाट ५११ मेगावाट बिजुली उत्पादन भएको छ । सार्वजनिक र निजी क्षेत्रबाट गरी हालसम्म १ हजार मेगावाट बिजुली उत्पादन भएको छ । यो तापीय ऊर्जा बाहेकको हो ।

यो वर्ष १३८ मेगावाट मात्र बिजुली थप हुने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । गत वर्ष विभिन्न १२ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो ।

यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघ्ने भएको छ । विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

भारतबाट ४५० मेगावाटसम्म बिजुली आयात

लोडसेडिङ अन्त्य गर्न विद्युत प्राधिकरणले भारतबाट ४५० मेगावटसम्म बिजुली आयात गरेको छ । चालु आवमा प्राधिकरणले भारतबाट ४७० मेगावाटसम्म बिजुली आयात गर्ने लक्ष्य लिएको छ । प्रसारणलाइन पुर्वाधारको विकास गरेर भारतबाट यो परिमाण बिजुली आयात गर्न लागेको हो ।

हाल माग १ हजार २५० र आपूर्ति भारतबाट समेत गरी १ हजार मेगावाट रहेको छ । उद्योगलाई मात्रै साँझको समयमा दैनिक ३ घण्टा मात्र लोडसेडिङ गरिएको छ । कुलेखानी जलासयमा पानीको सतह यो वर्ष गत वर्षको भन्दा झण्डै ५ मिटर बढी रहेको छ । हाल कुलेखानी जलासयमा पानीको सतह १ हजार १२ मिटर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.