ओली सरकारसँग ३० लाख लगानीकर्ताको चित्त दुखेको छः रौनियार

  २०७४ चैत ८ गते ११:०१     छोटेलाल रौनियार

काठमाडौं । नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र नेप्सेको नकर्मण्यताका कारण अहिले सेयर बजारमा पहिरो गैरहेको छ । त्यसमा पछिल्लो समय ओली सरकारको मौनता पनि जोडिएको छ । नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको योजना अघि सार्यो तर बोनस, हकप्रदको बाटोमा बैंकहरु गए । केन्द्रिय बैंकले त्यसलाई सहर्ष स्विकार गर्यो ।

यसले बैंक तथा वित्तिय संस्थाहरुमा हकप्रद र बोनस सेयरको बाढी आयो । लगानी कर्ताहरुले बैंकबाटै ऋण लिएर हकप्रद सेयर खरिद गरे । संस्थापक देखि साधारण लगानी कर्ता सबैले बैंकबाटै पैसा झिकेर हकप्रद भरेका हुन् । केन्द्रिय बैंकले १५ प्रतिशत भन्दा बढि हकप्रद सेयर दिन नमिल्ने भनेको थियो भने आज यस्तो अवस्था आउने थिएन् । तर साना बैंकहरुले पनि मर्जरमा नगएर हकप्रदलाई नै पुँजी वृद्धिको माध्यम बनाए ।

केन्द्रिय बैंकपछि बीमा समितिले अर्काे गल्ति गर्यो । समितिले पनि पुँजी वृद्धिको योजना त ल्यायो त त्यसलाई हकप्रद र बोनसकै बाटो अपनाउने नीति लियो जुन अर्काे गलत कदम थियो । त्यसमाथी फेरी नयाँ बीमा कम्पनीहरु थपिदियो । नयाँ कम्पनीहरुमा पनि ठुलो रकम थुप्रियो । राष्ट्र बैंक र बीमा समितिपछि बजार घटाउन भूमिका खेल्ने अर्काे निकाय भनेको नेपाल धितोपत्र बोर्ड हो । बजारमा सेयरको आपुर्ति व्यापक मात्रामा बढेपछि बोर्डले माग बढाउन कुनै भूमिका खेलेन् । केहि अंकमा बजार बढ्ने वित्तिकै विज्ञप्ति निकालेर लगानी कर्तालाई होसियार बन्न आग्रह गर्ने बोर्डले बजार यत्रोबिधि घट्दा भने कुनै विज्ञप्ति निकाल्नु पर्ने आवश्यकता देखेन् । बजार बढ्दा कालोधनको जोखिम देखाउने बोर्डले बजार घट्दा बोल्नु पर्दैन् ?

बजार ओरालो लाग्नुमा नेप्सेको पनि भूमिका छ । नेप्सले अनलाइन कारोबारको व्यवस्था गरेको भए सेयर बजार यस्तो हालतमा आउने थिएन् ।
अहिलेको सेयर बजार भनेको ५० वटा ब्रोकरहरुको तजबिजमा चलिरहेको छ । २१ खर्बको बजार १५ खर्बमा झरिसकेको छ । ५० वटा ब्रोकरले १५ खर्बको बजार कब्जा गरेका छन् ।ब्रोकरहरु सेयर कारोबारमा भ्याट लगाउन लबिङ गरिरहेका छन् । कारोबार कर लगाउन लबिङ गरिरहेका छन् । लगानी कर्ताको पैसामा ब्रोकरको रजाई भैरहेको छ । नेपाल धितोपत्र बोर्ड, नेप्से पनि ब्रोकरकै प्रभावमा छन् ।

सेयर बजार प्रति ओली सरकारको रवैया
प्रधानमन्त्री बन्नु अघि केपी ओलीले सेयर बजार बारे पटक पटक बोलेका थिए । उनले आफुलाई देखाएर सेयर बजार घटाउने खेल भैरहेको आरोप लगाएका थिए । ओलीले सेयरमा भ्याट लगाउन नदिने घोषणा पनि गरेका थिए । तर ओली यतिबेला प्रधानमन्त्री बनेका एक महिना नाघ्यो । यसबिचमा २१ खर्बको बजार १५ खर्बमा झरेको छ तर ओलीले एक शब्द बोलेका छैनन् । किन ? हामी छक्क परेका छौं ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग पुँजी बजारको इतिहास जोडिएको छ । अर्थमन्त्रीसँग पुँजी बजार डराउँदै आएको छ । उहाँले म सेयर बजारप्रति नकारात्मक छैन भन्नु भयो तर उहाँले बजार प्रति सकारात्मक छु भन्न किन नसक्नु भएको छ । ओलीले बजार घट्दा एक शब्द नबोल्ने, अर्थमन्त्रीले पुँजी बजार प्रति सकारात्मक छु भन्न नसक्ने अनि कसरी बढ्छ बजार ? वास्तवमा भन्ने हो भने केपी ओली सरकारसँग ३० लाख लगानी कर्ताको चित्त दुखाई छ ।

भूकम्प र नाका बन्दी छिचोलेको पुँजी बजारमा त्यो भन्दा ठुलो भूकम्प गैरहेको छ अहिले । नेप्से, धितोपत्र बोर्ड र केन्द्रिय बैंक मुग्दर्शक भएका छन् । पुँजी बजार भनेको मुलुकको अर्थतन्त्रको ऐना हो । संसार कहाँबाट कहाँ पुगी सक्यो तर हामी पुँजी बजार उत्पादक हो की अनुत्पादक भन्ने विवादमै रुमलिएका छौं । (नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष रौनियारसँग गरिएको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.