ब्याजदर दोहोरो अंकले उकालो लागेपछि उद्योग व्यवसाय ओरालो, के होला अर्थतन्त्र ?

  २०७४ चैत ७ गते १४:०१     विकासन्युज

काठमाडौं । लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले कर्जाको ब्याजदर दोब्बरसम्म बढाएपछि उद्योग व्यवसाय ओरालो लागेको छ । लगानीयोग्य पुँजीको अभाव देखाउँदै बैंकले ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका छन् । यसअघि कर्जाको ब्याजदर ७ प्रतिशत हारहारीमा थियो ।

ब्याज बढेपछि सेयर बजार, सवारीसाधन बिक्री, घरजग्गा किनबेच, विपन्न कर्जा, जलविद्युत र उद्योग व्यवसायमा नकरात्मक असर परेको व्यवसायीले बताएका छन् । साथै, उद्योगमा मन्दी नै दखिन थालेको व्यवसायी बताउँछन् । पुँजी नभएपछि बैंक तथा वित्तीय संस्थाले दिने सेयर, घरजग्गा, सवारीसाधान र उद्योग व्यवसाय कर्जा वृद्धिदरमा भारी गिरावट आएको छ ।

पुँजीको अभाव देखाउँदै बैंकले ब्याजदर दोब्बर बढाएको व्यवसायीले गुनासो गरेका छन् । बैंकको चर्को ब्याजदरले व्यवसाय सञ्चालनमा समस्या परेको भन्दै घटाउन व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकको ब्याजदर दोब्बर बढेर १४ प्रतिशत पुगेको जाकारी दिएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग भएको भेटमा अध्यक्ष श्रेष्ठले ७ प्रतिशत हाराहारीमा रहेको ब्याजदर अहिले दोब्बर बढेर १४ प्रतिशत कटेको जानकारी गराएका थिए । उनले १४ प्रतिशत ब्याजमा पनि कर्जा नपाएको गुनासो गरे । हालको ब्याजदरले व्यवसाय गर्न नसक्ने अवस्था आएको भन्दै घटाउन अर्थमन्त्री खतिवडाको ध्यानकर्षण गराएका छन् ।

निक्षेप तान्न बैंकले मुद्धतिमा ११ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् । यस्तै साधारण वचतको ब्याजदर पनि बढेर ८ प्रतिशत पुगेको छ । ब्याजदर बढाउँदा पनि बैंकले निक्षेप बढाउन सकेका छैनन् । पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत पुगेपछि अधिकांश बैंकले कर्जा लगानी गर्न छाडेका छन् ।

गत माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष बैंकले दिने सेयर कर्जाको वृद्धिदर ५० प्रतिशत घटेको छ । ७ महिनामा बैंक तथा वित्तीय संस्थाले दिने सेयर कर्जा ६.८ प्रतिशत मात्र बढेको छ । अघिल्लो आवको सोही अवधिमा सेयर कर्जा १२.४ प्रतिशत बढेको थियो । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले २ अर्ब ७५ करोड ७९ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्ष ४ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको थियो ।

बैंक तथा वित्तीय संस्थाले हालसम्म ४३ अर्ब २३ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल सेयर बजार घट्नुको मुल कारण महंगो ब्याजदर भएको बताउँछन् । बैंकले लिने ब्याजदर नघटेसम्म सेयर बजारमा सुधार नहुने उनको भनाइ छ । सेयर बजार निरन्तर घट्दै गएपछि फोरमले सेयरधितो कर्जा सीमा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको छ ।

यस्तै सवारीसाधन कर्जा (अटोलोन) मा भारी गिरावट आएको छ । गत आर्थिक वर्षमा ३२.९ प्रतिशत बढेको अटो कर्जा चालु आवमा वृद्धिदर घटेर ८.४ प्रतिशतमा सीमित भएको छ । चालु आवको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ अटोलोन प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा ३६ अर्ब २५ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंककाअनुसार सवारीकर्जा १ खर्ब ६१ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

ब्याजदर बढ्न थालेपछि यसको असर सवारीसाधन बिक्रीमा परेको अग्नि इनकर्पोरेट प्रालिका सहायक निर्देशक वरदान बस्नेतले बताए । बैंकको ब्याजदर बढेपछि फागुनदेखि यसको असर सवारीसाधन बिक्रीमा परेको उनले जानकारी दिए । ब्याजदर बढेर १४ प्रतिशत पुगेको जानकारी दिँदै उनले भने “मंहंगो ब्याजदरमा पनि बैंकबाट कर्जा पाउन सकिएको छैन, ब्याज बढ्यो भन्दा पनि बैंकबाट कर्जा पाउनु नै ठुलो कुरा भएको छ ।” बैंकले सवारीकर्जा प्रवाह नगरेपछि गत माघदेखि नै असर देखिन थालेको र फागुनदेखि पुरै मन्दी आएको बस्नेत बताउँछन् । अधिकांशले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर गाडी किन्ने भएकाले समस्या देखिएको उनको भनाई छ ।

यस्तै बैंकको ब्याजदरको असर रियलस्टेटमा पनि परेको छ । चालु आर्थिक वर्षमा बैंकको रियलस्टेट कर्जा ६.७ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १६.३ प्रतिशत बढेको थियो । ७ महिनामा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ रियलस्टेट क्षेत्रमा कर्जा लगानी गरेका छन् । गत आवको सोही अवधिमा १७ अर्ब ६२ करोड ४८ लाख रुपैयाँ थियो ।

यस्तै विपन्न क्षेत्रमा जाने कर्जाका वृद्धिदर पनि घटेको छ । ७ महिनामा ८.६ प्रतिशतले मात्र यो क्षेत्रमा जाने कर्जा बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा १७.८ प्रतिशत थियो ।

यसअवधिमा आयात कर्जा ४ सय प्रतिशत बढेको छ । चालु आवमा ६१.८ प्रतिशत बढेर ३९ अर्ब ८६ करोड रुपैयाँ पुगको छ । गत आवको सोही अवधिमा १० अर्ब ४२ करोड रुपैयाँ थियो । महंगो ब्याजदरले जलविद्युत आयोजनाको लागत बढेको छ व्यवसायी बताउछन् ।
६ महिनामा बैंकको ब्याजदर ५ प्रतिशत बढ्दा यसको असर उद्योगमा परेको नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका बताउँछन् ।

ब्याजदर बढेपछि बस्तुको उत्पादन लागत बढेको र प्रतिस्पर्धी क्षमतामा कमी आएको उनको भनाई छ । अनुमान गरिएको भन्दा बढी ब्याजदर बढेपछि नयाँ उद्योग आउन नसकेको र बैंकले कर्जा पनि नदिएको उनको गुनासो छ ।

ब्याजदर बढेपछि उद्योगको लागत बढेकाले उत्पादन महंगो हुने अर्का उद्योगी प्रवलजंग पाण्डेको भनाइ छ । बैंकलाई तिर्ने ब्याजदर बढेपछि यसको असर उद्योगको उत्पादन लागतमा परेको उनले बताए ।

निक्षेपमा दिने ब्याजदर अनियन्त्रित हुन थालेपछि नेपाल बैंकर्स एसोसियसनले मुद्धति निक्षेपमा ११ र साधारण बचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नदिने आन्तरिक सहमति गरेका छन् । बैंकले सोही आधारमा निक्षेप उठाउनका लागि सूचना प्रकाशित गरेका छन् ।

बजारमा लगानीयोग्य पुँजी नभएपछि महंगोमा निक्षेप उठाउँदा यसको असर कर्जामा परेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहाल बताउँछन् । उनले पुराना ऋणलाई आधार ब्याजदर (वेस रेट) र नयाँलाई १४ प्रतिशतसम्म कर्जामा ब्याज लिने गरेको बताए । पछिल्लो समयमा बैंकले कर्जा लगानी धेरै कम गरेको उनको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.