चीनलाई नेपालमा लगानी गर्न एफएनसीसीआईकाे अध्यक्ष राणाको आग्रह

  २०७४ चैत ५ गते १९:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को अध्यक्ष भवानी राणासँग नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म (ओवीओआर)चिनिया प्रतिनिधिमण्डलले सोमबार भेटवार्ता गरेको छ । ओवीओआर संस्थापक शू याको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महासंघसँग भेटवार्ता गरेको हो । सो क्रममा नेपालको आर्थिक तथा व्यवसायीक विकासमा ओवीओआरकातर्फबाट सहयोग गर्न आफुहरु तत्पर रहेको प्रतिवद्धता चिनिया प्रतिनिधिमण्डलले जनाएको बताइएको छ ।

ओवीओआर खासगरी पूर्वाधार विकास, व्यवसायिक कृषि, उर्जा, पर्यटन, अन्तराष्ट्रिय व्यापार तथा लगानी क्षेत्रमा क्रियाशिल रहेको जानकारी गराउंदै प्रतिनिधिमण्डलले नेपालका ती क्षेत्रहरुमा ओवीओआरमार्फत लगानी भित्रयाउन इच्छुक रहेको धारणा राखेका थिए ।

भेटवार्ताको क्रममा नेपालमा उद्यमशीलताको विकास, प्रविधि हस्तान्तरण, काठमाडौबाट चीनका प्रमुख शहरहरुमा सिधा हवाई सम्पर्क विस्तार, नेपालबाट चीनमा निर्यात हुने वस्तुहरुको पहिचान लगायत सम्बन्धमा छलफल भएको बताइएको छ ।

महासंघकाअनुसार सो अवसरमा महासंघका अध्यक्ष राणाले ओवीओआरमार्फत नेपालको पूर्वाधार विकास, उर्जा, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी ल्याउन प्रतिनिधिमण्डल समक्ष आग्रह गरेकी थिइन् ।

त्यस्तै नेपाल चीन लगायत ओवीओआर सदस्य राष्ट्रहरुबीच यातायात संयन्त्रमार्फत आपसी सम्पर्क विस्तार गर्नु पर्नेमा उनको जोड थियो । नेपालमा लगानीको वातावरण राम्रो रहेको तथा ओवीओआरको सदस्य समेत रहेको कारण नेपालको समृद्धिको अभियानमा सहकार्य गर्न चिनिया प्रतिनिधिमण्डललाई महासंघ अध्यक्ष राणाले अनुरोध गरेको जनाइएको छ ।

उक्त भेटवार्तामा ओवीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्म नेपाल कार्यालयका प्रमुख एवं महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघको कार्यकारिणी समितिका सदस्य जय सिवाकोटी, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य एजी शेर्पा लागयततको सहभागि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.