२५ सय रोपनी सार्वजनिक जग्गा फिर्ता गर्न महानगरको ३२ वडालाई ब्रिफिङ, हिन्दु महासंघले प्रयोग गरेको २६ रोपनी जग्गा के हुन्छ ?

  २०७४ चैत ३ गते १२:००     खेमराज श्रेष्ठ

काठमाडौं । २ हजार ५ सय रोपनी भन्दा बढी सार्वजनिक जग्गा फिर्ता गर्न महानगरपालिकाले ३२ वडालाई निर्देशन दिएकोे छ । महानगरले ३२ वडामा रहेका सबै सार्वजनिक जग्गा फिर्ता सुरु गर्न वडा कार्यालयलाई ब्रिफिङ गरेको हो ।

प्रत्येक वडामा रहेका सार्वजनिक जग्गालाई फिर्ता गर्नका लागि आवश्यक कदम अघि बढाउन वडा अध्यक्षहरुलाई निर्देशन दिइसकेको महानगरका सूचना अधिकृत बसन्त आचार्यले बताए ।

‘वडाले पहिले जग्गाको कित्ता र नक्सा पत्ता लगाउँछ, यदि सार्वजनिक जग्गा मिचेको भएमा तत्काल जग्गा खाली गर्न आग्रह गर्दछ, यदि अटेरी गरेमा महानगरले डोजर प्रयोग गरेरै भएपनि मिचिएको सार्वजनिक जग्गा फिर्ता लिन्छ’, आचर्याले विकासन्युजसँग भने ।

कुनै पनि मानिस वा संस्थाले सार्वजनिक जग्गा मिचेको सूचना थाहा भएमा महानगर वा वडा कार्यलयलाई जानकारी दिन सक्ने आचर्याले जानकारी दिए ।

महानगरभित्र २५ सय रोपनी भन्दा बढी जग्गा रहेको बताइएको छ । यसभित्र खोला नाला, मठमन्दिर, कुलोकुलेसो, बाटोघाटो र पार्क इत्यादी रहेका छन् । कतिपय सार्वजनि जग्गा व्यक्ति वा संस्थाले प्रयोग गरिरहेका छन् ।

महानगरभित्रको सार्वजनिक जग्गा कोहि पनि व्यक्ति वा संस्थाले कुनैपनि बाहानामा प्रयोग गर्न नपाउने महानगरका प्रशासकिय अधिकृत धनिराम शर्माले बताए ।

‘काठमाडौंको वातावरणलाई स्वच्छ र हरियाली राख्न सार्वजनिक जग्गा फिर्ता गर्नु अनिवार्य छ, व्यक्ति वा संस्थाको लाभको लागि सार्वजनिक जग्गा मिची बनाइएका संरचना कुनैपनि हालतमा महानगरले फिर्ता लिन्छ, यो कार्यमा आम मानिसले सहयोग गर्नु पर्नेछ’,शर्माले भने । राजधानीको फोहोर व्यवस्थापनका लागि नेपवस्ट कम्पनीले जिम्मा लिइसकेकोले फोहोर व्यवस्थापनमा तत्काल नयाँ कार्यक्रम नआउने शर्माले जानकारी दिए ।

महानगरले गत फागुन २१ गते वडा नं ३ मा सार्वजनिक जग्गा मिचेर बनाइएकोे एक तले भवन भत्काउदैं सार्वजनिक जग्गा फिर्ताको काम शुरु गरेको थियो । यो भवन ६ आनामा बनेको थियो । यस जग्गाको बजार मूल्य करिब ७ करोड रुपैंया रहेको अनुमान गरिएको छ ।

महानगरको ३ नम्बर वडामा २ सय रोपनी सार्वजनिक जग्गा रहेको वडा अध्यक्ष दिपक केसीले बताए । जसमध्ये १३६ रोपनी जग्गा रानीबारीले ओगटेको छ । ‘गयात्री नेपाल र विश्व हिन्दु महासंघले प्रयोग गरेको जग्गा फिर्ता लिने प्रक्रिया अघि बढेको छ, जनताको जमिन अब जनतामै फर्किछ अहिले त्यस जग्गालाई कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल अघि बढेको छ’, केसीले भने ।

महानगरको वडा नं ३ मा गायात्री समाजले ४२ आना जग्गा प्रयोग गरिरहेको छ भने विश्व हिन्दु संघले २६ रोपनी जग्गा प्रयोग गरिरहेको छ ।

वडा नं ३२ का वडा अध्यक्ष भाइराम खड्कीले सार्वजनिक जग्गा पहिल्याउन काम सरु भैसकेको बताए । मालपोत कार्यालयमा नक्सा हेरेर अहिले सार्वजनिक जग्गा पहिल्याउने काम भैरहेको र काम सकिएपछि मात्र सार्वजनिक जग्गाको यकिन तथ्य आउने खड्कीले बताए ।

महानगरले ३२ वडाभित्र रहेको सार्वजनिक जग्गा फिर्ता लिएर खुल्ला क्षेत्रको वृद्धि गरी महानगरीय सुन्दरतालाई हरियाली बनाउने लक्ष्य लिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.