कृषकका समस्या हल गर्न ‘कृषकसँग मन्त्री कार्यक्रम’

  २०७४ फागुन २२ गते १९:४८     विकासन्युज

पोखरा । प्रदेश नं ४ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषकका समस्या बुझी त्यसको समाधानमा सहयोग पुर्याउने लक्ष्यका साथ ‘कृषकसँग मन्त्री कार्यक्रम’ अघि सारिएको बताए ।

प्रेस क्लब पोखराद्वारा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उनले कृषिप्रतिको अनिच्छालाई कम गराउँदै यसलाई सम्मानित पेशाका रुपमा स्थापित गर्न उक्त कार्यक्रम आवश्यक भएको बताए । कृषकसँग मन्त्री कार्यक्रमअन्तर्गत कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान गर्दै समाधानको पहल गरिने उनको भनाइ छ।

‘कृषिको व्यावसायिकीकरणका माध्यमबाट यसतर्फ सर्वसाधारणलाई आकर्षित गरी बाँझो जमिनलाई उत्पादनमुखी बनाउनु आवश्यक छ’, उहाँले भने, ‘कृषिको विकासलाई लक्षित गरी सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।’ प्रदेशको समृद्धि र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उनको जोड छ।

प्रदेश सभा सदस्य कुमार खड्काले प्रदेश नं ४ लाई पर्यटन, ऊर्जा र कृषिको माध्यमबाट समृद्ध बनाउन सकिने धारणा राख्दै रोजगारीको खोजीमा विदेशिएका युवालाई यही नै रोजगारीको अवसर प्रदान गर्नुपर्ने बताए।

अर्का प्रदेश सभा सदस्य राजीव पहारीले प्रदेश नं ४ मा प्रकृति पदत्त स्रोत साधनको संरक्षण र विकास गर्दै त्यसैका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । प्रदेश सभा सदस्य हरिशरण आचार्यले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सबै जुट्नुपर्नेमा जोड दिएका थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.