बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

  २०७४ फागुन १३ गते ७:०९     विकासन्युज

बिबिसी । बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ। ५४ वर्षीया श्रीदेवी दुबाईमा एउटा वैवाहिक कार्यक्रममा सहभागी भएका बेला हृदयघात भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।

पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो।

बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन् । बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्।

दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलिवूड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्। सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलिवूडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो।

उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो । सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिनन्।सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो।

सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो, जसमा उनले लामो भूमिका निर्वाह गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.