पेट्रोलियम खानी अन्वेषण गर्न चिनियाँ टोली मार्चमा नेपाल आउँदै, २ अर्ब २० करोड बजेट तयार

  २०७४ फागुन ८ गते १७:३६     नारायण पौडेल

काठमाडौं । पेट्रोलियम खानीको थप अन्वेषणका लागि चिनियाँ प्राबिधिकको टोली मार्च महिनामा पुनः नेपाल आउने भएको छ । यस अघि सन २०१६ को अप्रिल ३० मा नेपाल आएको ६ सदस्यीय चाइना जिओलोजिकल सर्भेको टोलीले सुर्खेत-दैलेख, बुटवल-पाल्पा र चतरा-बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो ।

सो अध्ययनबाट प्राप्त तथ्यहरुका आधारमा नेपालका खानीहरुको पेट्रोलियम उत्खनन् गर्न सक्ने निष्कर्षसहित चिनियाँ टोली पुनः नेपाल आउन लागेको हो । ‘हामीसँग भएका तथ्यांकहरुको अध्ययन, उनीहरुले आफैंले गरेको अध्ययनका आधारमा नेपालका खानीहरुमा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्षसहित थप अध्ययनका लागि चिनियाँ टोली नेपाल आउन लागेको हो’, पेट्रोलियम परियोजनाका प्रमुख सुधिर रजौरेले विकासन्युजसँग भने ।

२०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो । श्रोतका अनुसार चिन सरकारले नेपालमा पेट्रोलिमय उत्खननका लागि २ अर्ब २० करोडको बजेट विनियोजन गरेको छ । तर नेपालले भने ४ अर्ब रुपैंया लाग्ने प्रक्षेपण पठाएको छ ।

सम्बन्धित खानीमा कति पेट्रोलियम पदार्थ छ ? उत्खननका लागि कति बजेट लाग्छ ? कुन गुणस्तरका हुनेछ ? उत्खनन्बाट वित्तिय लाभ प्राप्त हुन्छ वा हुन्न भन्ने अध्ययन गर्न करिब ५ बर्ष समय लाग्ने बताइएको छ । चीनले नेपालका सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रका खानीमध्ये कुनै एकको अन्वेषण तथा उत्खनन गर्नेछ ।

पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको हो

कति पाउँछ नेपालले लाभ ?
नेपालले १२.५ प्रतिशत रोयल्टी निःशुल्क प्राप्न गर्नेछ । त्यस बाहेक नाफाको केहि हिस्सा पनि नेपालले पाउनेछ ।

यी हुन १० ब्लक
नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.