सय रुपैंयाँ दरका १४ अर्बको सेयर आउँदै, के होला दोश्रो बजार ?

  २०७४ माघ २८ गते १४:५२     नारायण पौडेल

काठमाडौं । बजारमा लगानी योग्य पूँजीको चरम अभावले बैंकहरु ऋण प्रवाह गर्न नपाएको गुनासो गरिरहेका छन् । एनआइसी एसिया बैंकको ग्रोथ फण्ड र सिटिजन्स बैंकको सिटिजन म्युचुअल फण्डमा मात्रै होइन बुटवल पावर कम्पनीको एफपीओमा समेत लगानीकर्ताको खासै चासो देखिएन ।

यी कुनै पनि कम्पनीको सबै सेयर बिक्रि भएनन् । यसको सिधा अर्थ भनेको बैंकहरुसँग लगानी योग्य पुँजीको अभाव, सेयरको व्यापक आपुर्ति र लगानी कर्ताको कमजोर मनोबल नै हो ।ठिक यस्तै समयमा एक सय रुपैंयाँ मूल्य अंकित १४ अर्ब ३८ करोड मूल्य बराबरको सेयर आउँदैछ । १७ वटा कम्पनीले ३ अर्ब ८० करोड ११ हजार १ सय मूल्य बराबरको आइपीओ निष्काशनको अनुमति कुरिरहेका छन् ।

तीमध्ये १४ वटा जलविद्युत कम्पनी छन भने २ वटा लघुवित्त र एउटा बाणिज्य बैंकको एफपीओ छ । अर्काे तर्फ १६ वटा कम्पनीको १० अर्ब ६८ करोड मूल्य बराबरको हकप्रद सेयर आउँदैछ । ती कम्पनीहरु धितोपत्र बोर्डबाट निष्काशन अनुमतिको पर्खाइमा रहेका छन् । हकप्रद सेयर निष्काशनको तयारी गरेकामध्ये १४ वटा जलविद्युत कम्पनी छन ।

के भन्छन मर्चेण्ट बैंकर
सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले भने म्युचुअफ फण्डबारे लगानी कर्तालाई बुझाउन नसक्दा पुरै फण्ड बिक्रि नहुने अवस्था आएको बताए । ‘म्युचुअल फण्डका बारेमा लगानी कर्तालाई राम्रोसँग बुझाउन सकिएन र प्रतिफल सुनिश्चित हुन्छ भन्ने मनोविज्ञान स्थापित गराउन नसक्दा कतिपय कम्पनीको म्युचुअल फण्ड पुरै बिकेन’, मर्चेण्ट बैंकर्स एसोसियनसका अध्यक्ष समेत रहेका तिमल्सिनाले भने ।

उनले बजारमा लगानी योग्य पुँजी अभावको अवस्था अब हट्ने भएकाले सेयर बजारमा पनि बढ्न सक्ने अनुमान पनि गरे । ‘बजारबारे ठ्याक्कै अनुमान गर्न सकिन्न तर तरलता अभावको समस्या अब समान हुँदै जाने भएकाले केहि आशावादी हुन सकिने ठाउँ छ’, तिमल्सिनाले भने ।

लगानी कर्ताको मनोबल घटेको छः छोटेलाल रौनियार
सेयर इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले नियामक निकायहरुको लापरवाहीका कारण सेयर बजारमा आपुर्तिको भेल आएको आरोप लगाए । उनले सेयर आपुर्तिको अनुपातमा नियामक निकायहरुले माग बढाउन कुनै चासो नदिएकाले सेयर बजारका लगानी कर्ता निरास बन्दै गएको उनले बताए । ‘लगानी कर्ताको मनोबल टुटेको छ । नियामकहरुले केहि गरेनन् । बैंक र बीमा कम्पनीहरुको पुँजी ह्वात्तै बढाएर सेयरको आपुर्ति वृद्धि गरिदिए तर माग बढाउन कुनै उपाय ल्याएनन’, रौनियारले भने ।

आठ अर्ब पुँजीका बाणिज्य बैंक, २ अर्ब पुँजीका जीवन बीमा कम्पनी, एक अर्बका निर्जीबन कम्पनी, विकास बैंक, फाइनान्स, लघुवित्त, जलविद्युत कम्पनी र नयाँ बीमा कम्पनीहरुका कारण बजारमा सेयरको आपुर्ति माग भन्दा धेरै देखिन्छ । त्यसमा पनि पछिल्लो समय लगानीका लागि स्वर्णिम क्षेत्र मानिने जलविद्युत कम्पनीहरुको आइपीओ पनि ठुलै संख्यामा आउन लागेको देखिन्छ ।

‘आपुर्ति बढाईयो तर माग बढाउन ध्यान दिइएन, अनलाईन कारोबार नहुने, बैंकले ब्रोकर लाइसेन्स नपाउने तर सेयरको आपुर्ति भने बढिरहने अनि कसरी बढ्छ सेयर बजार ? रौनियारले प्रतिप्रश्न गरे । उनले ५० जना ब्रोकरको कब्जाबाट सेयर बजारलाई मुक्त नबनाएसम्म सेयर बजार उभोँ नलाग्ने ठोकुवा समेत गरे । मार्जिन लेण्डिङमा गरिएको कडाईले पनि सेयर बजार घटाउन सहयोग गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.