राजेशकाजी चम्किँदा भवानी छायाँमा, महासंघलाई सहसचिव, चेम्बरलाई मन्त्री

  २०७४ माघ १२ गते १४:५८     विकासन्युज

काठमाडौं । ६६ औं भन्सार दिवसको अवसर पारेर नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरे । दुबै संस्थाले ती कार्यक्रमलाई आफ्नो प्रतिष्ठाको बिषय बनाएका थिए । तर चेम्बरको कार्यक्रममा अर्थमन्त्री र राजश्व सचिव दुबै उपस्थित भए भने महासंघको कार्यक्रममा भन्सार विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपाल मात्रै सहभागी भए ।

भन्सार सम्बन्धी छलफल कार्यक्रम गर्नु केहि दिन अघि मात्रै चेम्बरले आफ्नो सांगठनिक संरचना महासंघिय बनाउने र देशैभर विस्तार गर्ने निर्णय गरेको थियो । तर महासंघले त्यसमा आपक्ति जनाउँदै चेम्बरलाई स्पष्टिकरण सोध्यो । महासंघले स्पष्टिकरण सोधेपछि चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ झन आक्रामक बने र भन्सार दिवसका आसपासमा मन्त्रीलाई नै बोलाएर कार्यक्रम गरिदिए । अहिले भन्सार दिवसका अवसरमा महासंघ र चेम्बरका कार्यक्रमलाई लिएर शक्ति आर्जनका रुपमा लिन थालिएको छ ।

बिशेष गरी राजेशकाजी श्रेष्ठले चेम्बरलाई ‘एग्रेशिभ’ ढंगले अघि बढाउन चाहेको देखिन्छ भने भवानी राणाले महासंघलाई पुरानै गतिमा समेत चलाउन नसकेको टिप्पणी हुन थालेको छ । महासंघबाट बाहिरिएका भाष्करराज राजकर्णिकारलाई चेम्बरले मनार्थ बरिष्ठ उपाध्यक्ष बनाईदिएको छ । महासंघसँग असन्तुष्ठहरुलाई एकत्रित गरेर चेम्बरले ‘काउण्टर’ दिन खोजेको बुझाई महासंघ नेतृत्वमा छ ।

चेम्बरलाई व्यापारीहरुको साझा संस्था मानिन्छ भने उद्योगीहरुको संस्थाका रुपमा महासंघबाटै अलग्गिएर नेपाल उद्योग परिसंघ गठन भएको छ ।
महासंघले भने आफुलाई उद्योगी र व्यापारीहरुको साझा संस्थाका रुपमा अर्थ्याउँदै आएको छ । यसबीचमा परिसंघ र महासंघबिच खासै राम्रो सम्बन्ध छैन् । परिसंघले आफ्नो सञ्जाल विस्तारलाई निरन्तरता दिईरहेका बेला चेम्बर पनि सोही मार्गमा अघि बढेको देखिन्छ ।

राष्ट्रिय निर्देशन ऐन अनुसार गठन भएका संस्थाहरुको बिधान संसोधन गर्ने अख्तियारी मन्त्रीपरिषदलाई मात्रै छ । चेम्बरले मन्त्रिपरिषदबाटै आफ्नो विधान संसोधन गरेर महासंघिय संरचनामा जाने बाटो खुल्ला गरिसकेको छ । अब चेम्बरले जिल्ला र प्रदेशमा पनि आफ्नो संगठन बनाउन सक्छ । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले गत बर्ष चेम्बरलाई महासंघिय ढाँचामा जानबाट रोक्न सफल भएका थिए । तर आरजु राणाकी विश्वास पात्र मानिएका भवानी राणाले यसपाली चेम्बरलाई महासंघ बन्नबाट रोक्न सकिनन् ।

देशभरका उद्योगीले परिसंघ रोज्ने अनि व्यापारीलाई चेम्बरले संगठित गर्यो भने महासंघको अवस्था के होला ? अहिले यस्तो प्रश्न तेर्सिएको छ ।
भवानी राणाले नेतृत्व सम्हालेपछि महासंघको नेतृत्वले उद्यमी व्यवसायीका पक्षमा दरिलो ढंगले आवाज उठान नसकिरहेको आरोप लाग्दै आएको छ । त्यहि मौका छोपेर चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठलाई त्यो ‘स्पेश क्यास’ गर्न खोजेको देखिन्छ । राजेशकाजीले यतिबेला चेम्बर अध्यक्षको चौथो कार्यकाल सम्हालिरहेका छन् । उनी पुर्व उद्योग बाणिज्य तथा आपुर्ति राज्यमन्त्री समेत बनिसकेका व्यक्ति हुन् ।

लामो समय चेम्बर आन्दोलनको अगुवाई गरेको तथा राजनीतिक नेतृत्वबीच सहज पहुँच भएकाले पनि श्रेष्ठले महासंघलाई यतिबेला ‘टक्कर’ दिईरहेका छन् । उता, सधै शक्तिको नजिक भैरहने महासंघको नेतृत्व भने ‘कर्नर’मा धकलिँदै गएको छ । कमजोर सक्रियता र पहुँचको अभावमा महासंघ नेतृत्वलाई चेम्बरले यतिबेला टक्कर दिएको स्पष्टै देखिन्छ ।

अब पाँच बर्षका लागि स्थीर सरकार निर्माण हुने सम्भावना बढिरहेको छ । त्यसमा पनि बामपन्थीहरुले सरकारको नेतृत्व गर्दैछन् । राजेशकाजी श्रेष्ठ आफैं बामपन्थी झुकाव भएको व्यक्ति हुन् । उनले नयाँ सरकारसँग सिधा सम्पर्क राख्न सक्छन् । त्यस्तो अवस्थामा प्रजातान्त्रिक धारकी महासंघ अध्यक्ष भवानी राणाले महासंघको ‘लबिङ पावर’ कसरी जोगाउलिन् ? हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.