२०७४ माघ ७ गते १४:१८ विकासन्युज
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले फेरी पनि लगानी योग्य पुँजीको अभाव दोहोरिन सक्ने चेतावनी दिएका छन् । कृषि विकास बैंकको ५१ औं बार्षिकोत्सव समारोहमा शुभकामना दिन पुगेका अध्यक्ष ढुंगानाले दिर्घकालिन समाधानका उपाय नखोजेर क्षणिक समाधानमा केन्द्रित हुँदा समस्या पुनः दोहोरिन सक्ने चेतावनी दिएका हुन् ।
‘नेपालमा कहिले तरलता अभाव त कहिले लगानी योग्य पुँजीको अभाव हुँदै आएको छ, समस्याको जड पहिल्याउन भन्दा पनि क्षणिक समाधाना उपाय खोज्न लाग्यौं, यसले भोलीका दिनमा पनि समस्या ल्याउनेछ’, ढुंगानाले भने । उनले बैंकर्स संघ मार्फत लगानी योग्य पुँजी अभावको दिर्घकालिन समाधानको सुझाव केन्द्रिय बैंक र अर्थमन्त्रालयमा बुझाएको दावी पनि गरे । लगानी योग्य पुँजीको अभावमा कर्जा विस्तार गर्न नसकेको बताउँदै उनले कर्जा वृद्धि बिना आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुन नसक्ने दावी पनि गरे ।
कार्यक्रममा अर्थराज्य मन्त्री उदय शमशेर राणाले लगानी योग्य पुँजी अभावको दिर्घकालिन समाधान खोजी भैरहेको बताएका थिए । उनले भने–‘लगानी योग्य पुँजीको अभावको दिर्घकालिन समाधानका लागि अर्थमन्त्रालय गम्भिर बनेको छ, हामीले नेपाल राष्ट्र बैंकसँग घनिभूत छलफल पनि गरिरहेका छौं ।’ उनले निकट भविष्यमै लगानी योग्य पुँजी अभावको समाधान गर्ने बताएका हुन् ।
अर्थराज्य मन्त्री राणाले तरलता अभावको समाधनबिना कर्जा लगानी नबढ्ने र कर्जा लगानी नबढे आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल पर्ने भएकाले मन्त्रालयले गम्भिर ढंगले काम गरिरहेको बताएका हुन् । उनले ग्रामिण अर्थतन्त्र जागरुक बन्दै गएकाले बैंकहरुले निक्षेप संकलनको दायरा बढाउन ग्रामिण क्षेत्रमा केन्द्रित हुनुपर्नमा पनि जोड दिए ।‘अब ग्रामिण क्षेत्रको अर्थतन्त्र शसक्त बन्दै छ, गाउँ गाउँमा आर्थिक गतिबिधी बढ्दैछन्, बैंकहरुले अब आफुलाई त्यतै केन्द्रित गराउनुपर्छ’, राणाले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.