स्रोत समितिको बैठक, एक साताभित्र आगामी वर्षको बजेट सिलिङ तोक्ने

  २०७४ माघ ५ गते १७:४१     बाबुराम खड्का

काठमाडौं । सरकारले आउदो आर्थिक वर्ष ०७५/०७६ का लागि आवश्यक वित्तीय स्रोत जुटाउनका लागि छलफल थालेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच आगामी आर्थिक वर्षको वजेटका लागि आवश्यक वित्तीय स्रोत निर्धारण गर्न शुक्रबार स्रोत समितिको बैठक बसेको छ ।

आगामी एक साताभित्र स्रोतको पहिचान गरी सोही आधारमा बजेटको सीमा (सिलिङ) तोक्ने योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । पहिला कति स्रोत जुटाउन सकिन्छ त्यो अध्ययन गरेर मात्र बजेटको सीमा तयार हुने उनको भनाई छ । यस्तै आवश्यक खर्चको विषयमा पनि छलफल भएको छ । अहिले छलफल चलिरहेकाले बजेटको आकार नआइसकेको उनले स्पष्टपारे । बजेटको सिलिङ तोक्ने काम योजना आयोगले गर्दै आएको छ ।

यसका लागि राजश्व वृद्धिदर, आन्तरिक ऋण उठाउने क्षमता, प्राप्त हुन सक्ने वैदेशिक अनुदान र ऋण सहायताको आँकलन गरेर मात्र बजेटको सिलिङ तोकिने उनले स्पष्टपारे । उनले राजश्व वृद्धि दर हालको भन्दा बढी हुने संकेत गरेका छन् । चालु आवमा २२ प्रतिशत राजश्व वृद्धि दर तोकिएको छ । नयाँ अर्थमन्त्रीले सिलिङमा परिवर्तन गर्न सक्ने वाग्ले बताउछन् । “हामीले एउटा सिलिङ तयार गर्ने छौ” उनले भने “नयाँ अर्थमन्त्रीले चाहेमा यसमा तलमाथि हुन सक्ने छ ।”

मुलुकमा संघीयता कार्यन्वयनमा गइसकेकाले वित्तीय स्रोतको धेरै आवश्यकता पर्ने उनको भनाई छ । मूल्य अभिवृद्धिकर (भ्याट) केन्द्रमा ७० प्रतिशत रहने र बाँकी ३० प्रतिशत प्रदेश र स्थानिय तहमा बाँडिने छ । यस्तै रोयल्टी र अन्तशुल्क पनि ३ तहमा विभाजन हुने भएकाले सरकारलाई खर्चको चाप बढी हुने वाग्लेले बताए ।

खर्च धेरै हुने भएकाले सरकारलाई स्रोत व्यवस्थापन गर्न समस्या आउने सक्ने उनको भनाई छ । अर्थसचिव शंकरप्रसाद अधिकारीले राजश्व वृद्धि दर ३० प्रतिशत बढाएर आगामी आवका लागि १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट ल्याउन सकिने संकेत गरिसकेका छन् । चालु आवमा सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.