भिसा कार्डबाट सपिङ गर्नुस्, भोली पल्टै खातामा थपिन्छ १० प्रतिशत नगद

  २०७४ पुष ३० गते १४:१५     विकासन्युज

काठमाडौं । के तपाईले भिसा कार्डबाट सपिङ गरिरहनु भएको छ, त्यसो भए अब तपाईको खातामा थपिनेछ १० प्रतिशतसम्म नगद । भिसा कार्डबाट वस्तु तथा सेवा खरिद गरेको भोली पल्टै तपाईको बैंक खातामा १० प्रतिशत क्यास ब्याक जम्मा हुनेछ । यस्तो सुविधासहितका सेवा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा रहेको भिसा कार्ड सर्भिस प्रदायक बैंकहरुले ल्याएका हुन् ।


माघ १ गतेदेखि ३० गतेसम्म लागु हुने योजनामा ८ वटा बाणिज्य बैंक र ३ वटा विकास बैंकका कार्ड प्रयोगकर्ताले उपयोग गर्न सक्नेछन् । सेञ्चुरी, ग्लोबल आईएमई, कुमारी, महालक्ष्मी विकास बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताले यस्तो क्यास ब्याक अफर उपयोग गर्न पाउनेछन् ।

‘भिसा कार्डबाट वस्तु तथा सेवा खरिद गरेको भोलीपल्टै अधिकतम १० प्रतिशत वा एक हजारसम्मको क्यास ब्याक सम्बन्धीत खरिदकर्ताकै बैंक खातामा जम्मा हुनेछ’, नेपाल इन्भेष्टमेन्ट बैंककी रिना चन्दले भनिन् ।

कस्तो छ नियम ?

यो अफरका लागि न्युनतम ५ सय रुपैंयाँसम्मको वस्तु तथा सेवा खरिद गर्नुपर्नेछ । एक देखि ३ वटासम्म कारोबारमा २ प्रतिशत वा एक सय रुपैंयाँसम्म क्यास ब्याक पाइनेछ । ४ देखि १५ वटा कारोबारमा ५ प्रतिशत वा अधिकतम २ सय रुपैंयाँसम्म क्यास ब्याक पाइनेछ । त्यस्तै १६ देखि ३० वटासम्म कारोबार गर्दा ५ प्रतिशत वा ५ सय क्यास ब्याक पाइन्छ भने ३१ देखि ५० वटासम्म कारोबार गर्दा १० प्रतिशत वा एक हजारसम्म क्यास ब्याक पाइनेछ ।

कति छन् पल्स मेसिन ?

हाल मुलुकका प्रमुख शहरहरुमा ४५ सय वटा पल्स मेसिनहरु रहेका छन् । तीमध्ये २ हजार वटा पल्स मेसिन नेपाल इन्भेष्टमेन्ट बैंककोे नेटवर्कमा आवद्ध रहेका छन् । सबै पल्स मेसिनहरुबाट हुने वस्तु तथा सेवा खरिदमा क्यास ब्याक अफर लागु हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा रहेको भिसा कार्ड सर्भिस प्रोभाइडर बैंक अन्तर्गत १६ लाख कार्ड होल्डर रहेका छन् ।

दशैं तिहारपछिको उत्साह

यी बैंकहरुले दशै, तिहार तथा छठको अवसरमा भिसा कार्डबाट हुने खरिदमा १० प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएका थिए । सो अफरका कारण कार्डबाट हुने खरिद ५२ प्रतिशत बढेपछि बैंकहरुले उत्साहित हुँदै अहिले नयाँ पुनः सोही प्रकारको अफर ल्याएको बताएका छन् । क्यासलेस कारोबारको गतिलाई बढाउने उदेश्यले यस्तो सेवा आरम्भ गरेको उनीहरुको दावी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.