जबजको च्याप्टर क्लोज भएको छैन- राजेन्द्र राई

  २०७४ पुष २३ गते १४:५१     विकासन्युज

खासमा जबज क्रान्तिपछिकै लागि निर्माण गरियो भने क्रान्ति लगत्तै यो कसरी क्लोज हुन्छ ? कम्यूनिष्टहरू फुट्नै हुँदैनथ्यो त्यसैले जुट्नु धेरै खुशीको कुरा हो तर एकताको नाममा गर्न नपर्ने र गर्न नहुने कुरा गर्न बेमनासिब हुन्छ, त्यस्तै बेमनासिब काम जबजमाथि अनावश्यक रूपमा धावा बोलेर भइ रहेको छ ।
जबजको महत्वपूर्ण २ पक्ष छनः एक–क्रान्ति पूर्वको सन्दर्भमा वा क्रान्तिको बाटोको सन्दर्भमा । दुई– क्रान्तिपछिको सन्दर्भमा वा क्रान्तिपछि कस्तो शासन व्यवस्था, प्रणाली रहने भन्ने सन्दर्भमा ।

१) क्रान्तिको सन्दर्भमा जबजको मान्यता हो, क्रान्ति शान्तिपूर्ण बाटोबाट नि संभव छ अथवा शान्तिपूर्ण बाटोको संभावना रहेसम्म त्यसै बाटोबाट हिड्नुपर्छ, अरूको नक्कल गरेर वा रहर गरेर जनयुद्धको, हिंसाको बाटोमा लाग्नु अनुचित हुनेछ ।
२) क्रान्तिपछिको व्यवस्था, शासन प्रणाली बहुदलीय रहने भन्ने जबजको मान्यता हो । खसोखास भन्ने हो भने जबज भन्ने नामले, शब्दावलीले क्रान्तिपछिकै शासन व्यवस्थालाई ईँगित गर्छ ।

हो क्रान्ति सम्पन्न भई सकेको सन्दर्भमा क्रान्तिको बाटो सन्बन्धमा जबजले राखेको मान्यताको सान्दर्भिकता समाप्त भयो भन्न सकिन्छ । तर, क्रान्ति पछिको सन्दर्भमा वा क्रान्तिपछिको शासन व्यवस्था, प्रणालीको सन्दर्भमा जबजको मान्यता यति छिट्टै, क्रान्ति लगत्तै, क्रान्तिलाई कानूनी रूपमा समेत व्यबस्थित गरी नसक्दै कसरी असान्दर्भिक हुन सक्छ ?

यदि हुन्छ भने के कम्यूनिष्टहरूले सकेको दिन एक दलियता लाद्ने हो ? श्रमजीवी जनताको अधिनायकत्वको नाममा कम्यूनिष्ट पार्टीको अधिनायकत्व लाद्ने हो ? विचार र कामको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर शासन गर्ने बाटो छाडेर बलपूर्बक अरू विचार, पार्टी, शक्तिलाई दबाएर शासन गर्ने बाटोमा जाने हो ?
यसो गर्ने होईन भने अथवा अहिले हामीले एक दलियता लाद्न नसक्ने भएको कारणले मात्र बहुदलियता मानेको होइन, वर्गहरू रहेसम्म फरक फरक विचार र पार्टीहरू रहनेछन् । फरक विचार र पार्टीहरूलाई बलपूर्बक दमन गरेर जनताको नाममा शासन गर्ने होइन । विचार र काममा, प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्र शासन गर्नुपर्छ । सत्तामा बस्नुपर्छ भन्ने मान्यता राख्ने हो भने जबजको सान्दर्भिकता सकिएको छैन, च्याप्टर क्लोज भएको छैन ।

जबजका थप १४ बिशेषताहरू–आवधिक निर्वाचन, बहुमतको शासन अल्पमतको प्रतिपक्ष, कानूनको शासन, संविधानको सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त, नेतृत्व र अधिनायकत्व आदिको पनि सान्दर्भिकता सकिने कुरै भएन । यी बिशेषताहरू सामान्य लागे पनि विगतमा कतिपय कम्युनिष्ट मुलुकहरूमा तिनीहरूको कार्वान्वयनमा कमजोरी रहन गयो, त्यसैले जवजले बिशेष र बेग्लै ब्याख्या सहित तिनीहरूलाई प्रतिबद्धताको रूपमा महत्वका साथ समावेश गरेकोले बिशेष मान्न सकिन्छ ।

निष्कर्षमा जबजले क्रान्ति अघिको बाटो मात्र होइन क्रान्ति पछिको बाटो पनि देखाएकोले जबजमाथि धावा बोल्नुको साटो त्यसले देखाएको बाटोमा हिँडे नेपालका कम्यूनिष्ट पार्टीहरू नअलमली गन्तव्यमा पुग्न सक्छन् । हो समय र परिस्थिति अनुसार जबजलाई पूर्णता दिँदै जान सकिनेछ, पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.