चर्चित छ जना पात्रहरू जसले चुनावी प्रचारमा सबैलार्इ जिते तर नतिजामा हारे

  २०७४ मंसिर २६ गते २०:११      रमेश लम्साल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा फरक पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामलाई हेर्दा राजनीतिक कर्ममा क्रियाशील रहेकालाई नै जनताले विश्वास गरेको पाइएको हो ।

विशेषगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत समेत भएका प्राडा गोविन्दराज पोखरेल प्यूठानबाट पराजित भए  । भारतका लागि नेपाली राजदूतसमेत भएका दीपकुमार उपाध्याय र त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत डा खगेन्द्र अधिकारी पराजित भए ।

राम्रो स्थानमा रहेको र काम गरेर जनताको मन जित्न सक्ने अवस्थामा रहेका ती व्यक्तित्वहरु निर्वाचन परिणामका आधारमा पराजित हुनुभएको हो । यस्तै लामो समय पत्रकारिता गरेर विवेकशील साझा पार्टीको संयोजक समेत भएका रवीन्द्र मिश्र पराजित हुँदा नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकबाट राजीनामा दिएका नवराज सिलवाल भने ललितपुर–१ बाट निर्वाचित भए ।

यस्तै विगतमा अनेक रुपमा गलत काममा नाम जोडिएका राजीव गुरुङले मनाङबाट प्रदेशसभामा विजयी हुँदा उस्तै प्रकृतिका उम्मेदवार भनेर प्रचारित गणेश लामाले भने निर्वाचनमा पराजय भोग्नुपर्रयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग निर्वाचन लड्न झापा क्षेत्र नं ५ पुगेका डा अधिकारीले २८ हजार २९७ मत प्राप्त गरे । ओलीले ५७ हजार १३९ मत प्राप्त गरेपछि अधिकारी हारे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका प्राडा पोखरेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् वाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलसँग पराजित भए । पौडेलले ४७ हजार ५१४ मत ल्याएर विजयी हुँदा प्राडा पोखरेलले ३१ हजार २८६ मत ल्याए ।

निर्वाचनका लागि भन्दै भारतका लागि नेपाली राजदूतको पद त्याग गरेर राजनीतिक मैदानमा अाएका उपाध्याय पनि वाम गठबन्धनका तर्फबाट उम्मेदवार चक्रपाणि खनालसँग पराजित भए ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं १ बाट प्रतिस्पर्धामा उत्रेका उपाध्यायले २८ हजार ८५३ मत ल्याए भने सो क्षेत्रबाट विजयी खनालले भने २९ हजार ७९९ मत प्राप्त गरे ।

जनताको मन र विश्वास जितेको भए पनि प्राविधिक रुपमा आफूले हार्नु परेको भन्दै विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार मिश्रले आफूहरु निरन्तर राजनीतिमा क्रियाशील रहने बताए । मिश्रले यो चुनावी यात्राका क्रममा आफूलाई नेपाल र विदेशमा रहेका नेपालीको असोचनीय स्तरमा साथ र सहयोग मिलेको भन्दै यसपटक राष्ट्रिय पार्टी बन्न नसके पनि राजनीतिमा सकारात्मक रूपले गरेको आक्रामक आगमन नै खुशीको विषय भएको बताए । सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत प्राप्त गरे ।

उता फरक पृष्ठभूमिबाट राजनीतिमा अाइका सिलवालले ललितपुर–१ बाट अर्थराज्यमन्त्रीसमेत रहेका काँग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पराजित गरे । सिलवालले २६ हजार ९५१ मत पाएर विजयी हुँदा राणाले भने २० हजार ७२९ मत प्राप्त गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.