२१६ मेगावाटको माथिल्लो त्रिशुली १ को बिजुली डलरमा खरिद गर्ने सम्झौता, ६० अर्ब कोरियन लगानी भित्रिदै

  २०७४ मंसिर ३ गते १६:०१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनासंग अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ ।

कामदार तथा कर्मचारी बस्नका लागि आयोजनाले निर्माण गरेको अस्थाइ क्याप

विद्युत प्राधिकरणले प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसंग पीपीए गरेको हो । प्रारम्भीक भएपनि औपचारिक रुपमा पीपीए सम्झौता हुन बाँकी छ । विद्युत प्राधिकरणको सञ्चालक समितिले पारित गरेपछि औपचारिक पीपीए हुनेछ ।

पीपीएको प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पेश भएको छ । ३० वर्षका लागि पीपीए भएको हो । सरकारले आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) ३५ वर्षका लागि दिएको छ । पीपीए भएकाले आयाजना निर्माण हुने पक्का भएको छ ।

सुख्खायामको ६ महिनामा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८०

पैसामा पीपीए भएको हो । आगामी १० वर्षसम्मका लागि पीपीए भएको छ । प्राधिकरणले कुल पीपीए रकमको ८० प्रतिशत डलर र २० प्रतिशत नेपाली रुपैयाँमा भुक्तानी गर्ने सहमति भएको छ । नेपाल वाटरले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्यवृद्धि पाउने छ ।

कोरियाली कम्पनीले विदेशबाट डलरमा लगानी ल्याउने भएपछि प्राधिकरणले डलरमा पीपीए गरेको हो । आयोजना बनाउन ५८ करोड डलर झण्डै ६० अर्ब रुपैयाँ नेपाली लाग्ने भएको छ । ९० प्रतिशत कोरिया र १० प्रतिशत जेड कन्सल्ट नेपालीको छ ।

नेपाल वाटरमा कोरियाको साउथ इष्ट कम्पनी लिमिटेड (कोसेप) को ५२, डेलियम इन्डिष्ट्रियल कम्पनी लिमिटेडको १६ र केर्योङ कन्ट्रक्सन कम्पनी लिमिटेडको १०, विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) को १२ तथा स्थानिय लगानीकर्ता जेड कन्सल्ट प्रालिको १० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ ।

आयोजनामा विश्व बैंक अन्र्तगतको आईएफसी र जर्मनीको बैंक डीइजीलगायत अन्य अन्तराष्ट्रिय वित्तीय संस्थाले लगानीका लागि कम्पनीलाई आशयपत्र दिएका छन् । यसअघि ऊर्जा मन्त्रालय र नेपाल वाटरबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो । आफै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीति अन्र्तगत सरकारले आयोजना कोरियाली कम्पनी नेपाल वाटरलाई दिएको हो ।

आयोजनाबाट वार्षिक १ अर्ब ४६ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने छ । पीडीए सम्झौता भएको मितिले आउदो २ वर्षभित्र आयोजनाले लगानी जुटाउने र ५ वर्षमा आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशतसम्म सेयर दिनुपर्ने पीडीएमा उल्लेख छ ।

पीडीएमा पानीको प्रयोग अनुमति, रोयल्टी तथा कर, विद्युत खरिदविक्रि सम्झौता (पीपीए) को सिद्धान्त, नेपाली स्रोतसाधनको प्रयोग, कावु बाहिरको परिस्थिती जोखिम व्यवस्थापन लगायतका विषय समेटीएको छ ।

पीपीए भएकाले आगामी कात्तिकदेखि आयोजनाको सिमिल निर्माण थाल्ने भएको छ । हाल सडकलगायत आवासको निर्माण भइरहेको छ । एक वर्षभित्र लगानी जुटाएर आगामी कात्तिकदेखि निर्माण सुरु हुने कम्पनीले जनाएको छ । आगामी सन् २०२२ देखि बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । नेपालमा डलर पीपीए हुनेमा यो ७ औं आयोजना हो । यसअघि खिम्ती, भोटेकोसी, माथिल्लो मस्र्याङदी, तल्लो सोलुलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.