माथिल्लो तामाकोसीको सुरुङमा ‘ब्रेक थ्रु’, आईपीओको ‘आइस ब्रेक’ कहिले ?

  २०७४ मंसिर ३ गते १२:५४     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ आइतबार छेडिएको (ब्रेक थ्रु) छ । उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष समेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च अधिकारीको उपस्थितिमा आइतबार बिहान ८.५ किलोमिटर लामो सुरुङ छेडिएको हो ।

यो समेत आयोजनाको काम ९२ प्रतिशत सम्पन्न भएको छ । अब ८ प्रतिशत काम मात्र सम्पन्न हुन बाँकी छ । अब ९३० मिटर लामो सर्चसाफ्ट सुरुङको काम मात्र बाँकी छ । हाल इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । यस्तै गोंगरबाट न्यू खिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ ।

आयोजनाबाट आगामी ०७५ को असार मसान्तमा पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । पहिलो युनिटले ९१ मेगावाट विद्युत उत्पादन गर्नेछ । सोही वर्षको मंसिरसम्म बाँकी चार वटा युनिटबाट पनि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।

आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ ।

तामाकोसीले आईपीओ पुसभित्रै निष्कासन गर्ने

अपर तामाकोसी हाइड्रोले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको र ढिलोमा पुससम्म बजारमा ल्याउने तयारी भएको न्यौपानेले जानकारी दिए ।

पहिलो चरणमा दोलखावासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्ने उनले बताए । त्यसलगतै सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुने छ ।

आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने सहमति भएको उनले जानकारी दिए । प्रवत्ता न्यौपानेका अनुसार दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर पाउने भएका छन् ।

यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निश्कासन गरी ०७२ जेठ २९ गते बाँडफाट भइसकेको छ ।

बाँडफाँट भएको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत नहुदाँ कारोबार भएको छैन । लगानीकर्ताले लाभ पाउन सकेका छैनन् । आयोजनाले ०६३ सालमा दोलखावासीलाई सेयर निश्कासन गर्ने निर्णय गरेको थियो । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.