राष्ट्र बैंकबाट ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड उठाए, आइतबार पनि २० अर्ब पठाउने तयारी

  २०७४ मंसिर १ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट विभिन्न ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड रुपैयाँ उठाएका छन् । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बजारमा हस्तक्षेप गर्न शुक्रबार २० अर्ब रुपैयाँ रिपो ल्याएको हो । बैंकहरुले ५ प्रतिशत ब्याज दरमा सो रकम राष्ट्र बैंकबाट उठाएका हुन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) भएपनि अन्तर बैंक ब्याज दर बढ्न थालेपछि हस्तक्षेप गर्न रिपो ल्याएको राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता रहेको छ । केन्द्रीय बैंकले ५ प्रतिशत ब्याज दरमा २ साताका बजारमा रकम पठाउन रिपोे गरेको हो । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ ।

केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । ब्याज दर करिडोर लागु भएको दिन बुधबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दरमा बजारबाट १५ अर्ब रुपैयाँ उठाएको थियो ।

राष्ट्र बैंकले शुक्रबार रिपो बिक्री नभएपछि पुनः आइतबार २० अर्ब रुपैयाँको जारी गर्ने भएको छ । शुक्रबार बजारमा लक्ष्य भन्दा धेरै कम रकम गएपछि आइतबार पुनः रिपो गर्न लागेको हो । शुक्रबार भएकाले कम माग भएको हुन सक्ने अनुमानका आधार केन्द्रीय बैंकले पुनः आइतबार रकम बजारमा पठाउने तयारी गरेको हो । मंसिर १७ गते आइतबार रिपो परिपक्व हुने छ ।

तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने आवश्यक पर्दा पैसा बजारमा पठाउने र बढी भएमा प्रशोचन गर्ने व्यवस्था छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बजारमा बढी भएको रकम प्रशोचन र कम भए पठाउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.