१५० करोड लागतमा यस्तो बन्दैछ महानगरपालिकाको हरिभवन, तयार भयो डिजाइन

  २०७४ कार्तिक १४ गते १७:०१     पवन तिमिल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारस्थित हरि भवन पुननिर्माण गर्ने भएको छ । मंगलबार महानगरपालिकाले हरि भवनको डिजाइन सहितको स्केच तयार पारेको छ ।

महानगरले ४२ महिनाभित्रै कार्य सम्पन्न हुने गरी निर्माण गर्ने तयारी गरेको छ । २ लाख वर्ग फुट क्षेत्रफलमा निर्माण हुने यो भवनको १ सय ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भवनको डिजाइन मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

भवनको बाहिरी मोहडा तीनवटा मौलिकता झल्कने गरी डिजाइन गरिएको छ । भित्री डिजाइनहरु भने आआफ्नै मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ । नयाँ बन्ने भवन पुरानो बागदरबारको आकारमा तीन तल्लाको मात्र हुनेछ । यसको एतिहासिक मौलिकता कायम गर्न खोजिएको र यो ब्लक भित्र फिनिसिङहरु पनि पौराणिक शैलीमा निर्माण गरिएको छ ।

मल्लकालिन चोकहरु

भवनभित्र चार वटा मल्लकालिन परम्परागत शैलीका चोकहरु हुनेछन् । ती चोकहरुले काठमाडौमा लोप हुँन गइरहेको पुरातात्विक चोकहरुको पूर्ण स्वरुप झल्कने गरी डिजाइन गरिएको महानगरले जानकारी दिएको छ ।

मोहडाको दोस्रो भागमा लिच्छवीकालिन शैलीको डिजाइन अनुसार तयार पारिएको छ । यो भवन साढे ६ तल्लाको हुनेछ । त्यस्तै तेस्रो भागमा महानगरपालिकाको छुट्टै पहिचान दिने भ्यू टावर पनि निर्माण गरिएको छ ।

१५ तल्लाको माथिल्लो तल्लाबाट उपत्यका लगायतका विभिन्न हिमश्रृंखला दृश्यावलोकन गर्न सकिने र विपद व्यवस्थापनका लागि बाइनाकुलर मार्फत महानगरपालिकाका घटनाक्रमहरु अवलोकन गरी विपद न्युनिकरण गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ ।

भवनभित्र सम्पूर्ण प्यासेज, लबी, कोठाहरुमा उज्यालो छिर्ने गरी डिजाइन तयार पारिएको छ । डिजाइनमा प्रदर्शनी हल, पुस्तकालय, लिफ्टको पनि व्यवस्था गरिएको छ ।

नयाँ बन्ने भवन अपाङ्ग मैत्री रहेको छ । यसमा अपाङ्गमैत्री र्‍याम्प र पार्किङको पनि व्यवस्था छ । त्यस्तै दृष्टिविहिनहरुका लागि फ्लोरहरुमा सांकेतिक टाईलको व्यवस्था गरिने छ भने लाइब्रेरीमा ब्रेल लिपि पुस्तकहरुको पनि व्यवस्था गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

पार्किङ

महानगरपालिकाका अनुसार पार्किङका सम्बन्धमा भूमिगत तल्लामा १ सय वटा गाडी र १ सय वटा मोटरसाइकल अट्ने सुविधा राखिनेछ । जसमा भविष्यमा अर्को १ तल्ला गाडीको पार्किङ थप्न मिल्ने पनि व्यवस्था गरिनेछ । ग्राउण्डमा भने ५० वटा गाडी र करिब २ सय वटा मोटरसाइकल अट्न सक्ने पार्किङको पनि सुविधा रहनेछ ।

संग्राहलय

भवनमा काठमाडौं महानगरपालिका भित्रका पौराणिक कालदेखि लोप हुँदै गएका सम्पदा पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्न संग्राहलयको पनि व्यवस्था गरिनेछ। उक्त संग्राहलय सर्वसाधारणका लागि पनि खुला गरिने महानगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.