धरहराबाट ‘सेफ ल्याण्डिङ’ खोज्दै टेलिकम, पुननिर्माण प्राधिकरणले आफैं बनाउने

  २०७४ असोज ८ गते १८:०५     नारायण पौडेल

काठमाडौं । नेपाल टेलिकमले धरहरा निर्माणको जिम्मेवारीबाट सुरक्षित अवतरण खोजेको छ । टेलिकमले असोज ५ गते राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पत्र लेखेर घुमाउरो भाषामा ३ अर्ब ६७ करोेड लागतको धरहरा पुननिर्माणबाट सुरक्षित अवतरणको सन्देश दिएको हो । पुरातत्व विभागले ३ अर्ब ६७ करोड १९ लाख १२ हजार ५ सय ६८ रुपैंयाँ १६ पैसा निर्माण लागत आवश्यक पर्ने प्रक्षेपणसहित ११ तले धरहराको डिजाइन तयार पारेको थियो ।

पुरानो धहराको ६ रोपनी, टक्सार विभागको १२ रोपनी, गोश्वारा हुलाकको १२ रोपनी र सुन्धाराको १० रोपनी गरि कुल ४० रोपनी क्षेत्रफलमा नयाँ धरहरा निर्माण गर्ने तयारी थियो । २४५ फिट अग्लो धरहरा भिमसेन थापाले निर्माण गर्दा कै अर्थात ११ तल्ले नै हुनेछ । म्युजियम, पार्किङ वाटर फाउण्टेन सुबिधा सम्पन्न क्याफे र लाइब्रेरी समेत धरहरामा हुनेछन् ।

तत्कालिन केपी ओली सरकारले सरकारले २०१६ को फेब्रुअरी १७ तारिखका दिन मै बनाउँछु धरहरा नामको अभियान सञ्चालन गरेको थियो । सो अभियानमा यथेष्ठ रकम संकलन नभएपछि मन्त्रिपरिषद बैठकले नेपाल टेलिकमलाई बनाउन दिने निर्णय गरेको थियो । पुरातत्व विभागले तयार पारेको डिजाइन अनुसार धरहराको निर्माण गर्दा ३० बर्षसम्ममा सञ्चालन खर्च र लगानी समेत नउठ्ने देखेपछि टेलिकमले बाहिरीने सोँच बनाएको हो ।

‘टेलिकमले धरहराको पुननिर्माण नगर्ने आसयको पत्र असोज ५ गते नै बुझाएको छ, हामीले मन्त्रिपरिषदलाई त्यसको जानकारी दिईसकेका छौं, अब टेलिकमलाई धरहरा बनाउन दिने निर्णय मन्त्रिपरिषदले खारेज गर्छ र प्राधिकरण आफैंले धरहरा बनाउँछ’, राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहायक प्रवक्ता डा. भिष्म भुषालले विकासन्युजसँग भने ।

उता, टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले भने धराहरा बनाउने निर्णयबाट टेलिकम पछि नहटेको तर अरबौं लगानी गर्दा लगानी उठ्ने अवस्थाको माग गरेको बताए । ‘हामीले धरहरा नबनाउने भनेका छैनौं, हामीलाई धरहराबाट नाफा कमाउनु पनि छैन तर सञ्चालन खर्च र लगानी उठ्ने वातावरण बनोस भन्ने मात्रै चाहेका हौं’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राज भण्डारीले आफ्नो एक बर्षे उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमै धरहरा लगायतका पुरातात्विक सम्पदाको पुननिर्माणमा एक अर्ब दिने पुर्व प्रतिवद्धता यथावत रहेको बताएका थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.