बीमा समितिमा १६ दरबन्दी थप, अब बजार अनुगमन र नियमनको काम प्रभावकारी बनाउने

  २०७४ भदौ २८ गते १६:१२     विकासन्युज

काठमाडौं । बीमा समितिमा १ जना निर्देशक र १५ जना सहायक निर्देशक गरी १६ पदका लागि दरबन्दी थपिएको छ । दरबन्दी थप गर्न समिति बीमा समितिले गरेको प्रस्तावलाई अर्थमन्त्रालयले स्वीकृति दिएको छ ।

थप १६ दरबन्दी थपिएपछि बीमा समितिमा ८० जना कर्मचारी हुने भएका छन् । नयाँ दरबन्दी स्वीकृत भएकोले लोकसेवा आयोगको सहभागितामा कर्मचारी नियुक्ती प्रक्रिया अगाडि बढाउने तयारी शुरु भएको समितिको अध्यक्ष चिरञ्जीवि चापागाईले बताए । नयाँ भर्ना प्रक्रिया लामो हुने भएकोले आगामी बैशाखसम्म नयाँ दरबन्दी पूर्ति हुन सक्ने समितिको अनुमान छ ।

त्यस्तै बीमा समितिको कर्मचारी विनियमावली पनि सञ्चालक समितिले पास गरेर स्वीकृतको लागि अर्थमन्त्रालय पठाएको छ । उक्त विनियमावली दशैंअघि नै स्वीकृत हुन सक्ने अर्थमन्त्रालय स्रोतले बतायो ।

त्यस्तै, बीमा समितिले करिव ७० करोड लगानीमा कुपण्डोलमा अत्याधुनिक भवन बनाउने भएको छ । नयाँ भवनको ड्रोइङ, डिजाइनिङ र कष्ट इष्टिमेट (नक्साङ्कन, डिजाईन र लागन अनुमान) लगायत काम गर्ने जिम्मेवारी समितिले पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई दिएको छ । टेण्डर आह्वान गर्नुपूर्वको सबै तयारीका काम गर्न डिनको कार्यालयलाई जिम्मा दिने निर्णय भएको अध्यक्ष चापागाईले बताए ।

७ तलाको भवन बनाउन उपयुक्त हुने सुझावसहित प्रारम्भिक डिजाईन आएको तर यसबारे टुङगो लाग्न केही समय लाग्ने उनले बताए । ‘बीमा समिति भित्रको काम धेरै भएका छन् । अब बीमा समितिभन्दा बाहिर गएर गर्ने कामलाई प्राथमिकता दिन्छौं’ अध्यक्ष चापागाईले बताए । अब बीमा बजारकाे अनुगमन र नियमनको काम प्रभावकारी बनाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.