१ सय १३ विद्यालय पुनःनिर्माण

  २०७४ भदौ १४ गते १४:१०     विकासन्युज

गोरखा । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका १ सय १३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए ।

दुईकोठे एउटा भवन पुनः निर्माणलाई १० लाख ३८ हजार रुपैयाँ लगानी भएको छ । भवन पुनः निर्माणलाई ४५ मिलियन सहयोग आएको थियो । गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो ।

विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताए । पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन् । फिन चर्च एडले गोरखामा १ सय १३ विद्यालय, मकवानपुरमा १ सय ११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ ।

युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त रुपमा लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन् । गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो ।

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४सय ४९ विद्यालयमध्ये अहिलेसम्म २ सय ५ वटा पुनःनिर्माण भइसकेको र १ सय ५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताए ।रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.