एक बर्षमै तेश्रो जन्मः गोपाल पराजुलीका नाममा आठौं आश्चर्य

  २०७४ असार ६ गते १०:१६     नारायण पौडेल

काठमाडौं । मान्छे एक पटक जन्मन्छ र एक पटक मर्छ पनि । यो प्राकृतिक नियम नै हो । ठूला दुर्घटनाहरुबाट बाच्न सफल भएकाहरुलाई दोश्रो जन्म मान्ने चलन छ ।

नेपालमा एक जना यस्ता पात्र छन् जसले तेश्रो जन्म पाएका छन् तर उनले पाएको थप २ वटा जन्मसँग न कुनै ठूलो दुर्घटना जोडिएको छ न त कुनै ठूलो रोगको अचानक निदान नै ।

यसरी संसारकै लागि आठौं आश्चर्यको इतिहास रच्न सफल भएका व्यक्ति हुन गोपाल पराजुली । तीनै पराजुली केहि समयपछि नै सर्वाेच्च अदालतको प्रधानन्यायधिसको कुसीमा आसिन हुँदैछन् । पौने तीन करोड नेपालीलाई न्याय दिलाउने कुर्सीमा आसिन हुनै लागेका पराजुलीले एक वर्षको अवधिमै तीन पटक जन्म लिएको तथ्यहरुले देखाउँछ ।

उनलाई अतिरिक्त २ वटा जन्म दिलाउने कुनै ईश्वरीय शक्ति वा उनका अविभावक भने होइनन् । पराजुली आफैंले तीन पटक जन्म लिएको प्रमाणहरु तयार पारेका हुन् । २०३० साउन २१ गते जारी गरिएको नागरिकतामा उनको उमेर २१ वर्ष लेखिएको छ । जन्म मिति नखुलाएर उमेर मात्रै लेखिएको सो नागरिकताका आधारमा पराजुलीको जन्म २००९ सालमा भएको देखिन्छ । तर पराजुलीले २०६७ साल मंसिर ९ गते नागरिकताको अर्काे प्रतिलिपी बनाएका छन् । सो प्रतिलिपिमा उनको जन्म २०१० बैशाख १६ गते भएको उल्लेख छ ।


त्यसो त पराजुलीले सर्वाेच्च अदालतमा बुझाएको कागजातमा पनि उनको जन्म २००९ साल साउन २१ गते लेखिएको थियो । उनको पेन्सन पट्टामा भने जन्म मिति २०१० साल बैशाख १३ गते लेखिएको छ । यसरी गोपाल पराजुली एक वर्षमै तीन पटक जन्म लिने ऐतिहासिक व्यक्ति बन्न सफल भएका छन् ।

आफ्नै हात जगन्नाथ
पराजुलीले आफ्नै नेतृत्वमा बसेको न्यायपरिषद बैठकबाट आफ्नो तीन वटा जन्ममध्ये सबै भन्दा कान्छो मिति अर्थात २०१० साल बैशाख १६ गतेलाई बैधानिकता दिलाएका छन् । अदालत भनेको जनताको अन्तिम आस्थाको केन्द्र हो तर त्यहि अदालतको नेतृत्वमा बस्नेहरुले आफ्ना लागि जस्तो सुकै निर्णय गराउने प्रवृत्तिले अदालत प्रतिको जन विश्वासमा ह्रास आउने जानकारहरू बताउँछन् ।

पराजुलीको उमेर सम्बन्धी विवाद न्याय परिषदमा पुगेको थियो, तर पराजुलीले आफ्नै नेतृत्वको बैठकबाट आफ्नो उमेर सच्याए । आफुले आफैंलाई न्याय दिने नियम पनि सायद संसारमा आठौं आश्चर्यमै पर्ला । सायद यसैलाई भन्छन होला–आफ्नो हात जगन्नाथ पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.