आइपिओमा आवेदन गर्नेलाई न्युनतम १० कित्ता सेयर दिने व्यवस्था साह्रै राम्रो

  २०७४ जेठ २६ गते १२:४८     ज्ञानेन्द्र बहादुर कार्की

ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्री

नेपालमा पूँजी बजारको सुव्यवस्थित ढंगले विकास र विस्तार गरी मुलुकको पूर्वाधार तथा आर्थिक विकासका लागि आवश्यक पूँजी संकलन गरी सही ढंगले परिचालन गर्ने उद्देश्यले २०४६ सालमा प्रजातन्त्रको पुनरोदयपछि बनेको नेपाली कांग्रेसको निर्वाचित सरकारले स्थापना गरेको नेपाल धितोपत्र बोर्डको रजत जयन्तीको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन पाउँदा मैलै आफूलाई गौरवान्वित महसुस गरिरहेको छु । म यस सुखद अवसरमा धितोपत्र र पूँजी बजारसंग सम्बन्धित सबैलाई बधाई सहित शुभकामना दिन चाहन्छु ।

उदारवादी, खुला र प्रतिस्पर्धात्मक आर्थिक व्यवस्थामा मात्र पूँजी बजारको स्वस्थ र दिगो विकास संभव छ र यस्तो विकासले मात्रै देशका लागि आवश्यक पूँजी जुटाउन मद्दत गर्दछ । यही यथार्थलाई ध्यानमा राखेर नै नेपाली कांग्रेसले यस क्षेत्रको विकास गर्न बजार सञ्चालक र नियमनकारी निकायको अलग अलगव्यवस्था गरेको हो । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको स्थापना र सञ्चालन पछि नेपालको पूँजी बजारमा सबैले देख्ने र भोग्ने गरि आमूल परिवर्तन भएका छन । नेपाल धितोपत्र बोर्डले एक नियमनकारी निकायको रुपमा चालेका कतिपय सामयिक कदमले नेपालीहरुलाई वचत गर्ने र वचतलाई लगानी गर्ने शिक्षा र अवसर दिएको छ । प्राथमिक निष्कासनमा आवेदन गर्ने सबैलाई न्यूनतम १० कित्ता शेयर दिने जुन व्यवस्था अहिले भएको छ, मलाई लाग्छ त्यसले आउने दिनमा नेपाली नागरिकलाई वचत गर्ने र संकलित रकम उच्च प्रतिफल दिने कम्पनीमा लगाउने संस्कारको विकास गराउने छ । नेपालीलाई उद्यम उन्मुख गराउन र कम्पनीका अंशियार वा मालिक बनाउन धितोपत्र बोर्डले ल्याएका यस्ता कार्य सराहनीय रहेका छन् ।

केही अगाडिदेखि लागू भएको आश्वा प्रणालीले पनि राजधानी र देशका केही ठूला शहर बजारमा केन्द्रित रहेको पूँजी बजारलाई देश व्यापी बनाउन मद्दत गरेको छ । अब राम्रा कम्पनीको शेयरमा देशभरबाट बैंकमार्फत नेपाली जनताले आवेदन गर्न सक्ने भएका छन । मैले यसलाई नेपालको पूँजी बजारको विकासमा महत्पपूर्ण सुधारको रुपमा लिएको छु ।

धितोपत्र बोर्डको रजत जयन्तीको अवसरलाई म विगत २५ बर्षमा नेपाली कांग्रेसले अंगीकार गरेका नीतिलाई पनि स्मरण गरिरहेको छु । जल विद्युत क्षेत्रमा पूँजी बजारबाट पूँजी संकलन गरी आयोजना निर्माण गर्ने जुन परम्परा विकसित भएको छ , त्यसले नेपाललाई मुलुकको आर्थिक र सामाजिक विकासका साथै गुणस्तरीय जीवन यापनका लागि अत्यावश्यक मानिएको ऊर्जामा आत्म निर्भरतातर्फ उन्मुख गराइरहेको छ । यो सुखद् पक्षहो । सन्तोषको विषय हो । अन्य क्षेत्रमा पनि हामीले यसको अनुशरण गर्नुपरेको छ ।

उत्पादन मूलक कम्पनीहरु यसरी सार्वजनिक निष्कासनमा आउने हो भने उनीहरुको विकास र विस्तारमा मात्र हैन, कम्पनीहरुको सुशासन र सुसञ्चालनमा पनि गुणात्मक परिवर्तन हुने मेरो विश्वास छ । हामीले अपनाएको संघीयतालाई व्यवहारमा सफलबनाउन हरेक प्रदेशमा कि त हाल भएका व्यवसायी पुग्नु प¥यो कि नयाँ व्यवसायी आउनु प¥यो । उद्योगी र व्यापारीहरु तपाईहरुको जुन जुन लगानी छ, त्यसलाई विस्तार गर्नुस, जनतासंग पैसा उठाउनुस, नाफाको अंश वितरण गर्नुस । आफू पनि बढ्नु होस् देशलाई पनि बढाउनु होस । सातै प्रदेशमा समानुपातिक रुपमा औद्योगिक र आर्थिक विकासका लागि सरकारको साथ साथै निजी क्षेत्रले पनि सोच्नु पर्ने अवस्था आएको छ । मलाई लाग्छ , पूँजीबजारको दिगो विकास र विस्तारले नै हाम्रो आवश्यकता केही हदसम्म पूर्ति गर्न सक्छ ।

बैंक तथा वित्तीय क्षेत्रको विकासमा पनि नेपालले फड्को मारेको मैले देखेको छु । बाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थाहरु, लघुवित्तले नेपाली जनताको घरदैलोमा पुगेर सेवा दिन थालेका छन् । उद्यमी नेपालीहरुलाई उद्यमका निम्ति अब खर्चको समस्या हुने दिन सकिदैछन । नयाँ संरचनाका स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना र सञ्चालनमा दिइएको सुविधाले कुनै पनि नेपाली आर्थिक समस्याको कारणले उपयुक्त व्यवसाय गर्नबाट बञ्चित हुन नपरोस भन्ने ध्येयले सरकारले काम गरेको छ ।

अब बीमा क्षेत्रले पनि देशभर आफ्नो उपस्थिति देखाउनु पर्ने अवस्था आएको छ । यो क्षेत्रबाट पूँजी परिचालनको ठूलो संभावना भएर पनि सन्तोषजनक काम हुन सकेको मैले देखेको छैन । बीमा समितिले देशका सबै प्रदेशमा विमा कम्पनीहरुलाई आफ्ना सेवा विस्तार गर्न लगाउनु पर्ने खाँचो देखिएको छ ।

हामीले राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेका छौ । २०७२ साल असोज ३ गते जननिर्वाचित संविधानसभाले जारी गरेको संविधानले संघीयता सहितको गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थाको माध्यमबाट नेपाल र नेपाली जनताको भाग्योदय गर्न सकिने परिकल्पना गरेको छ । अब हाम्रो ध्यान आर्थिक समृद्धिमा केन्द्रित रहेको छ । आर्थिक विकासको लागि पूँजीको निर्माण र परिचालन गर्नु पर्दछ । यस कार्यको महत्वपूर्ण भूमिका पूँजी बजारका तपाईहरुले पाउनु भएको छ ।

नेपाल धितोपत्र बोर्डले पाएको आइओस्कोे लगायतका अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरुको सदस्यतालाई मैले उत्तिकै उपलब्धिको रुपमा लिएको छु । नेपालको धितोपत्र बजार पनि अन्तराष्ट्रिय स्तरको हुन पुगेछ । यो आधुनिकीकरणको युगमा प्रवेश गरेछ । यसले नेपालको धितोपत्र बजारमा गैरआवासीय नेपाली नागरिकलाई लगानी गर्न दिने र विदेशी संस्थागत लगानीकर्ता भित्र्याउने कार्यलाई पनि सहज गराउने मैले विश्वास लिएको छु ।

नियमन निकायका हिसाबले अधिक स्वायत्तता पाउनु पर्ने र बढ्दै गएको पूँजी बजार र धितोपत्र बजारलाई नियमन गर्न विश्वमा विकसित उच्च प्रविधिका उपकरणको जडान र सेवा सञ्चालनका लागि आफ्नो अलग्गै भवन हुनुपर्ने बोर्डको मागलाई मैले सकारात्मक रुपमा लिएको छु ।

अहिलेसम्म कानूनले व्यवस्थित हुन नसकेको कमोडिटी बजारको नियमन र सञ्चालनका लागि संसदमा दर्ता भएको विधेयकलाई छिटै पारित गर्न मेरो पूर्ण सहयोग रहनेछ ।

पूँजी बजारलाई अझ प्रतिस्पर्धी, सक्षम, लगानी कर्ता मुखी बनाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । यसका लागि आवश्यक पूर्वाधार बनाउन निजी क्षेत्र पनि अगाडि सरोस्, हामी देश विकासलाई सघाउने यस्तो निकायलाई प्रोत्साहित गर्न पछाडि पर्ने छैनौ ।

आज पनि वचत, लगानी र प्रतिफलका कुरा गरिरहदा अझै पनि मलाई दिनहुँ घरपरिवारबाट छुटेर विदेशिन वाध्य नेपालीको सम्झना आउछ । हामी आफै स्वदेशमा नै पूँजी निर्माण गरौ । परिचालन गर्रौ । उद्यम गरौ । रोजगारी सिर्जना गरौ । उत्पादन गरौ । विदेशी बजारमा निर्यात गरौं । यति धेरै संभावना बोकेको मुलुकका बासिन्दालाई नेपालको पूँजी बजारले त्यो सत्मार्गमा लैजान उत्प्रेरित गर्न सकोस् ।

(अर्थमन्त्री कार्कीले नेपाल धितोपत्र बोर्डको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.