सेयर बजारको दुस्मन कम्युनिष्ट पार्टी र प्रचण्डलाई पत्याउने नेपाली पुँजीपति

  २०७४ जेठ १० गते १४:२१     विकासन्युज

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा गर्दैछन् । उनले राजीनामा गर्छन भन्ने पक्कापक्की हुँदा सेयर बजार रातो भएको छ । सेयरको मूल्य घटिरहेको छ  ।


नेकपा (माओवादी केन्द्र) नेपालभित्रका कम्यूनिष्ट पार्टीहरु मध्ये खरो पार्टीको रुपमा चिनिन्छ । यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि आफूलाई खाँटी कम्यूनिष्ट पार्टीको नेता भन्न रुचाउँछन् ।

तिनै कम्यूनिष्ट पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा गर्दैछन् र आफूलाई लोकतन्त्र र पुँजीबादको पर्यायवाची भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । अर्थमन्त्री पनि नेपाली काँग्रेसले नै पाउँदैछ ।

तर सेयर बजार किन रोइरहेको छ ?

संसारभर कम्युनिष्टहरु खुल्ला बजार अर्थतन्त्रका बिरोधी मानिन्छन् । अझ उनीहरुले सेयर बजारलाई त पुँजीपतिको जुवाघर भन्दै आएका छन् । नेपालमै पनि सेयर बजार प्रति कम्युनिष्ट पार्टीका नेताहरुको दृष्टिकोण नकारात्मक छ । तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले पनि नेपालको सेयर बजार जुवा घर जस्तै देखिएको टिप्पणी गरेका थिए ।

यस्तो सोच र धरातलमा रहेको सेयर बजार नेकपा माओवादी केन्द्रका अध्यक्षले पद त्याग गर्दा किन हरियो भएन ? किन रातो भयो ?

वास्तवमा तर्क र तथ्यबीच गज्जबको बेमेल छ । १० वर्ष युद्ध गरेर राजनीतिक मुलधारमा आएका प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा सेयर बजारले नयाँ र सकारात्मक रेकर्ड कायम गरेको छ । उनी प्रधानमन्त्री भएकै बेलामा नेप्से परिसूचक उच्चतम विन्दुमा पुगेको छ ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा २०६५ साल भदौमा नेप्सेले इतिहासकै सर्वाधिक उच्चतम विन्दु ११७५ छोएको थियो । उनी दोस्रो पटक २०७३ साउनमा प्रधानमन्त्री चुनिए । सोही महिना सेयर बजारले अर्को इतिहास रच्यो,  नेप्सेले १८८१ अंकमा टेक्यो । २०६५ देखि २०७३ को बीचमा नेप्से परिसूचक झरेर २९२ अंकमा पनि पुगेको थियो ।

२०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनबाट  नेकपा(माओवादी) सबैभन्दा ठूलो पार्टीका रुपमा उदायो । तत्काल सेयर बजार डरायो र घट्न थाल्यो । ठिक त्यति नै बेला प्रचण्डले पत्रकार सम्मेलन गरेर आफूहरु खुल्ला बजार अर्थतन्त्रको पक्षपाती भएको बताए र सेयर बजारलाई उचाल्न सहयोग गरे ।

नेपालका कम्यूनिष्ट पार्टीहरुले अझै पनि खुल्ला बजार अर्थतन्त्रलाई भित्रैदेखि स्वीकार नगरेको भन्ने आरोप लाग्दै आएको छ । तर कम्यूनिष्ट दलले सत्ता समालेकै बेलामा पुँजीपतिहरुले सेयर बजारमा पैसा खन्याएको पनि देखिन्छ ।

अर्को तथ्य के पनि छ भने २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा छोटो अवधिमा दुई दर्जन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका थिए । दोस्रो पटक उनी प्रधानमन्त्री भएको बेलामा एक दर्जन बीमा कम्पनीहरुलाई लाईसेन्स दिने निर्णय गराए । यी दुई तथ्यले पनि प्रचण्ड प्रधानमन्त्री भएको बेलामा नेपाली पुँजीपतिहरुले लगानी विस्तार गर्ने निर्णय लिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.