३६५ भूकम्प प्रभावितहरूको घर निर्माण गर्न रेडक्रस सोसाइटीद्धारा ५ करोड ८३ लाख वितरण

  २०७३ चैत १० गते २०:१९     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित ३८९ घरधुरीलाई दोस्रो किस्तावापतको रकम वितरण गरेको छ । ती प्रत्येक घरधुरीले १ लाख ५० हजारका दरले रकम पाएका हुन् । साथै रेडक्रसले भूकम्प पुनर्निर्माणको लक्ष्य प्राप्तिका लागि ६ हजार भन्दा बढी परिवारलाई प्राविधिक तथा वित्तीय सहयोग पु¥याइरहेको जनाएको छ ।

नुवाकोट काउले गाउँका मैनसिंह तामाङ्ग सामाजिक परिचालकसँग छलफल गर्दै

यस वर्षको जनवरीमा नेपाल सरकारको दोस्रो किस्ता वितरण निर्देशिका आएपछि नेपाल रेडक्रसबाट सहयोग उपलव्ध भएका ती ३८९ सबै घरहरूले दोस्रो किस्ताका लागि सरकारको प्राविधिक जाँचपास गरेका हुन् । यस्तै, रामेछाप जिल्लाबाट नेपाल रेडक्रसले तेस्रो किस्ताको वितरण पनि सुरु गरिसकेको छ ।

सरकारको नीतिअनुरुप हुने गरी नेपाल रेडक्रस सोसाइटीले भूकम्पप्रभावित परिवारलाई पूर्ण प्राविधिक तथा ३ लाख रुपैंयाका दरले वित्तीय सहयोग प्रदान गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले सुरक्षित र भूकम्पप्रतिरोधी घर निर्माणका लागि पहिलो किस्ता वापत अहिलेसम्म ६ हजार ३ सय ५० बढी घरधुरीलाई ५० हजारका दरले ३१ करोड ८ लाख रुपैंया वितरण गरिसकेको छ ।

“घर बनाउने दोस्रो किस्ताको रकम लिन मलाई कुनै अप्ठ्यारो भएन ।” रसुवा ठूलो गाउँका पूर्णबहादुर गुरूङले भने । भर्खरै नेपाल सरकारका इञ्जिनियरहरूले उनको घरको प्राविधिक जाँच गरे र पास भए पश्चात दोस्रो किस्ता लिएका हुन् ।
नेपाल रेडक्रसले भूकम्प प्रभावितहरूलाई भवन निर्माणका लागि नक्सा र आवश्यक प्राविधिक सल्लाह उपलव्ध गराउन आर्किटेक्ट र इञ्जिनियरको समूह नै त्यस क्षेत्रमा राखेर सहयोग पु¥याएको हुँदा पूर्ण र उनका छिमेकीलाई प्राविधिक शर्तहरू पूरा गर्न मद्दत पुगेको उनले बताए ।

नुवाकोट काउले गाउँका मैनसिंह तामाङ्गले नेपाल रेडक्रसले उपलव्ध गराएको कालिगढ तालिम लिएकी छिन् । नेपाल रेडक्रस सोसाइटीले भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत तालिम प्रदान गरेका ४ हजार २ सयभन्दा बढी कालिगढ मध्ये मैनसिंह पनि एक हुन् । उनले  आफ्नो घर पनि बनाउँदै छिन् भने अरु धेरैलाई घर निर्माण गराउन पनि सहयोग गरिरहेकी छिन् । “जब मैले एकहप्ते डकर्मी तालिमलिएँ, त्यसपछि मेरो कामगर्ने तरिका नै फरक भयो ” मैनसिंह भनिन् “पहिले हामी जतिसक्दो चाँडो काम सक्न हतारिन्थ्यौँ र जेजस्तो सामान पाइयो त्यही प्रयोग गर्दथ्यौँ । अहिले काम त ढुङ्गाकै गर्ने हो तर कसरी नभत्कने घर बनाउने हो त्यसतर्फ बढी सोच्छौँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.