६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्दै जनता बैंक

  २०७३ फागुन २४ गते ११:५६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने निर्णयबाट पछि हट्ने सम्भावना बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्ति गर्ने सम्बन्धि निर्णयसँगै जनता बैंकका प्रवद्र्धकहरु हकप्रद सेयर निश्काशन सम्बन्धी निर्णय फिर्ता लिने कसरतमा लागेका छन् ।

जनता बैंकले फागुन १ गते साधारणसभा गरी ६० प्रतिशत हकप्रद सेयर निश्काशन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको थियो । उक्त साधारणसभा लगत्तै जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिशनमा जाने सहमति भएको छ ।

उक्त सहमतिलाई दुबै बैंकले खुलस्त रुपमा सार्वजनिक गर्न चाहेका छैनन् । एउटा मर्जर तथा एक्विजिशनको प्रक्रिया पूरा नगरी अर्को मर्जर वा एक्विजिशन प्रक्रियामा जान नपाइने राष्ट्र बैंकको नीतिका कारण जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिशन सहमति सार्वजनिक नगरिएको हो । जनता र त्रिबेणी विकास बैंकबीच एक्विजिशन प्रक्रिया टुंगिन बाँकी रहेकोले सिद्धार्थसँगको सहमतिलाई ‘गोप्य जस्तो’ राखिएको छ ।

यद्यपि दुई बैंकबीचको सहमति सम्बन्धित नियामक निकायहरुमा पत्राचार गरेर  जानकारी गराएको छ । सोही अनुसार नेपाल स्टक एक्स्चेञ्जमा फागुन १९ गतेदेखि सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर कारोबार बन्द भएको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपछि जनता बैंकको लागि चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने थप हकप्रद सेयर निष्काशन गर्नु पर्ने छैन । ‘जनताले त्रिवेणी विकास बैंक प्राप्ति गरेपछि ४ अर्ब ७२ करोड चुक्ता पुँजी हुन्छ । सिद्धार्थ डेभलपमेन्ट बैंक प्राप्तिपछि चुक्ता पुँजी ७ अर्ब ८ करोड हुन्छ । तीन वटा संस्थाले चालु आर्थिक वर्षमा गरेको नाफा एक अर्ब पुग्छ । त्यसलाई अर्को वर्ष बोनस सेयर कन्भर्ट गर्दा चुक्ता पुँजी ८ अर्ब पुग्छ’ जनता बैंक सम्बद्ध स्रोतले भन्यो–‘चुक्ता पुँजी ८ अर्ब बनाउने उदेश्यले हकप्रद सेयर निश्काशन गर्ने भनिएको हो । पुँजी पुग्छ भने हकप्रद सेयर निश्काशन सम्बन्धि निर्णय अर्को साधारणसभाबाट फिर्ता गर्न सकिन्छ ।’ पुँजी मात्र बढाएर नहुने, व्यापार र नाफा पनि बढ्नु पर्छ भन्ने लाईनमा प्रवद्र्धकहरुबीच छलफल चलिरहेको उनले बताए ।

जनता बैंकले ६० प्रतिशत हकप्रद सेयर निश्काशन सम्बन्धि निर्णय फिर्ता लिएमा ‘वेल रेगुलेटेड र ट्रान्सपरेन्ट’ भनिने बैंक तथा वित्तीय संस्थाको निर्णयप्रति  विश्वास गुम्ने छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले भने यसअघि गरिएको निर्णयअनुसार ६० प्रतिशत हकप्रद सेयर निष्काशन गरेपछि मात्र जनता बैंकमा गाभिने बताएको छ । ‘हामी ६० प्रतिशत हकप्रद सेयर पनि निश्काशन गर्छौ र स्वाप रेसियो १०० भन्दा कम हुने छैन’ सिद्धार्थ बैंक स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.