नेपाल लाइफको सेयर बाँडफाँड फागुन १३ गते नहुने

  २०७३ फागुन १० गते १२:०६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपिओ फागुन १३ गतेभित्र बाँडफाँड नहुने भएको छ । नेपाल धितोपत्र बोर्डले तरलता अभावको तत्कालिन समाधानका लागि भन्दै नेपाल लाइफ र फरवार्ड कम्युनीटी माइक्रोफाइनान्सलाई फागुन १३ गतेभित्रै बाडफाँट गर्न निर्देशन दिएको थियो ।

यी दुई कम्पनीले गरेको सार्वजनिक निष्काशनको बाँडफाँड  भएमा ३ लाख ७० हजार लगानी कर्ताको ५५ अर्ब रुपैंयाँ बजारमा आउने थियो । तर बोर्डले तोकेको समयसिमा भित्र दुबै कम्पनीले सेयर बाँडफाँड गर्न नसक्ने देखिएको हो ।

‘दुबै कम्पनीले तोकिएको समयमै काम गर्ने प्रयास गरिरहेका छन्, हामीले सघाईरहेका छौं तर १३ गतेभित्रै बाँडफाँड हुने सम्भावना देखिएन’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले विकासन्युजसँग भने । उनले तोकिएको मितिबाट केहि दिन ढिलो हुनेगरि सेयर बाँडफाँडको तयारी भैरहेको जानकारी पनि दिए ।

उता, नेपाल लाइफको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले पनि फागुन १३ मै बाँडफाँडको सम्भावना नभएको बताए । ‘हामी काम गरिरहेका छौं, तर फागुन १३ कै मितिमा बाडफाँट गर्न सक्ने अवस्था छैन् । एकाध दिन ढिलो हुन सक्छ’, प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले विकासन्युजसँग भने ।

आफूहरुले पुरानै व्यवस्था अनुसार बाँडफाँडको योजना बनाएको तर बोर्डले बीचमा निर्देशन दिएकाले पनि समस्या आएको उनले बताए । ‘हामीले पुरानो व्यवस्था अनुसार बाँडफाँडको योजना बनाएका थियौं तर बोर्डले बिचमा निर्देशन दियो । जुन आफैंमा अप्ठेरो थियो तर पनि चाडै बाडफाँट गर्ने प्रयास गरिरहेका छौं’, प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले भने । बोर्डले भने माघ २७ गते नै निर्देशन दिएर फागुन १३ गतेभित्रै बाडफाँट गर्न भनेको थियो ।

नेपाल लाइफको एफपिओ र फरवार्ड कम्युनीटीको आइपिओले तरलता व्यवस्थापनमा ठूलो योगदान गर्न सक्ने भन्दै बोर्डले चाँडै बाँडफाँड गर्न भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.