२२ अर्ब ६३ करोडमा एयरवसको २ वाइडबडि किन्ने औपचारिक निर्णय, पहिलो जहाज आगामी असोजभित्रै

  २०७३ माघ ३ गते ८:४६     विकासन्युज

काठमाडौं ३, माघ । नेपाल वायुसेवा निगमले अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजका दुई वाइड बडी जहाज खरिद गर्ने औपचारिक निर्णय गरेको छ । यूरोपमा निर्मित एयरबस कम्पनीका जहाजहरू अमेरिकी लिजिङ कम्पनीबाट खरिद गर्ने निगम सञ्चालक समितिले शनिबार निर्णय गरेको हो ।
A330--airbus11
निगम हाल अमेरिकी जहाज बोइङ विस्थापन गर्दै युरोपेली जहाज एयरबस खरिद गर्दैछ । संचालक समितिले एएआर कर्पोरेसनसँग जहाज खरिद गर्ने निर्णय गरेपछि आइतबार नै उक्त कम्पनीलाई आशयपत्र पठाइसकिएको छ ।

निगमले जहाजका लागि आह्वान गरेको ग्लोबल टेन्डरमा एएआरले नयाँ जहाज सस्तो मूल्यमा दिनेगरी प्रस्ताव गरेको थियो ।

टेन्डरमा सहभागी ११ कम्पनीमध्ये सबैभन्दा सस्तो प्रस्ताव भएका कारण निगमको जहाज खरिदका लागि गठित सिफारिस समितिले सञ्चालक समितिलाई एएआरकै नाम सिफारिस गरेको थियो ।

निगम व्यवस्थापनले प्राविधिक विभागका प्रमुख आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । निगमलाई २० करोड ८१ लाख ६० हजार अमेरिकी डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा दुई जहाज दिने प्रस्ताव कर्पोरेसनले गरेको छ । “कम्पनीले यो रकम प्रस्ताव गरे पनि यसमा समेत केही ‘नेगोसिएसन’ हुनसक्छ,” निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

दुई जहाजको मूल्य २२ अर्ब ६३ करोड रुपैयाँ
गत महिना खुलाइएको टेन्डरमा वाइड बडी जहाज उपलब्ध गराउन ११ अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । “पहिलो जहाज २०७४ असोजभित्रै काठमाडौं ल्याउनेछौं,” कंसाकारले भने । उनका अनुसार दोस्रो जहाज २०७४ चैतभित्रै ल्याइसक्ने योजना निगमकोे छ ।

केही दिनभित्रै अमेरिकी कम्पनीका प्रतिनिधि काठमाडौं आउने र सैद्धान्तिक सहमति ९एमओयू० गरिनेछ । त्यसपछि मात्रै कम्पनीसँग जहाज खरिद सम्झौता हुने कंसाकारले जानकारी दिए । निगमले खरिद गर्ने जहाजमा ४० देखि ६० इन्च फराकिला १२ देखि १८ सिट बिजनेस क्लास रहनेछन् ।

यस्तै, ३० देखि ३६ इन्च फराकिला इकोनोमी क्लासका २ सय ८० सिट रहनेछन् । निगमले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, बेलायत लगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । निगमले अहिले आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थासँग ऋणका लागि छलफल चलाएको छ ।

ति संस्थाहरूले व्याजदर बढेको भन्दै निगमको ७ प्रतिशत प्रस्तावलाई स्विकार गरिसकेका छैनन् । “हामी धेरै व्याज तिर्न सक्दैनौ, ७ प्रतिशतमा दिनेसँग ऋण लिनेछौं,” कंसाकारले भने । यसअघि खरिद गरेको जहाज एयरबस ३२० का दुई जहाजका लागि संचयकोषले १० अर्ब रुपैयाँ ऋण दिएको थियो । जसमा ११ प्रतिशत व्याजको भार निगमले बेहोर्दै आएको छ । कारोबार दैनिबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.