नेपाल लाईफको साधारण सेयर आवेदन आजदेखि, बजार मूल्य भन्दा ५० प्रतिशत सस्तो

  २०७३ पुष २७ गते ११:२२     विकासन्युज

nepallife_insकाठमाडौं, २७ पुस । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको ३० लाख ९६ हजार ४२९ कित्ता साधारण सेयरको आवेदन आजदेखि माग २ गतेसम्म खुला छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित यो सेयर लिन प्रिमियम वापत १३२५ रुपैयाँ थप मूल्य तिर्नुपर्छ । प्रिमियसहित आवेदकले प्रतिकित्ता १४२५ रुपैयाँ बुझाउनु पर्ने छ ।

आवेदकले कम्तिमा १० कित्ता र बढीमा ३० हजार ९६० कित्ता खरिदका लागि आवेदन गर्न सक्नेछन् । १० कित्ता आवेदन गर्नेले १४२५० रुपैयाँ बुझाउनु पर्छ भने अधिकतम ३० हजार ९६० कित्ता आवेदन गर्नेले ४ करोड ४१ लाख १८ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।
एक कित्ताको सेयर मूल्य किन १४२५ ?

सामान्यतया कम्पनीले पहिलो पटक साधारण सेयर निश्काशन गर्दा अंकित मूल्य १०० रुपैयाँ तिरेर लगानीकर्ताले सेयर आवेदन गर्न पाउँछन् । तर नेपाल लाईफले दोस्रो पटक साधारण सेयर निष्काशन गरेको हो । चलन चल्तीको भाषामा एफपीओ (फर्दर पब्लिक अफरिङ) भनिन्छ । कम्पनीमा सर्वसाधारणको सेयर अनुपात ७० प्रतिशत बनाउन कम्पनीले एफपीओ जारी गरेको हो ।

२०५५ सालदेखि सञ्चालनमा आएको यो कम्पनी जीवन बीमा कम्पनी मध्ये सबैभन्दा राम्रो कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीको संचित नाफा, व्यापारको आकार, ब्राण्ड भ्यालु, सेयर बजारमा यस कम्पनीको सेयर कारोबार मूल्य जस्ता धेरै पक्षको हिसाव किताव गरेर कम्पनीको सेयरको प्रिमियम मूल्य निर्धारण भएको छ ।

विगत १ वर्षमा कम्पनीको सेयर प्रतिकित्ता अधिकतम ४५९६ र न्यूनतम २६१५ रुपैयाँमा किनबेच भईराखेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता २८५० रुपैयाँमा कारोबार भएको छ । बजार मूल्यभन्दा एफपीओ मूल्य ठिक ५० कम देखिन्छ ।

१ वर्षअघि कम्पनीले प्रतिकित्ता २८५१ प्रिमियम मूल्य राखेर प्रतिकित्ता २९५१ रुपैयाँमा एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा प्रस्ताव गरेको थियो । तर बोर्डले प्रिमियम मूल्य निर्धारण मापदण्ड बनाएर मात्र स्वीकृति दिने निर्णय गर्यो ।

नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीका अनुसार कम्पनीको नेटवर्थ अर्थात प्रतिसेयर खुल सम्पत्तिको मूल्य, विगत १८० दिनको कम्पनीको औषत सेयर मूल्य, विगतमा कम्पनीले आर्जन गरेको नाफा र सेयरधनीलाई वितरण गरेको लाभांश, नयाँ सेयरमा लगानी गर्नेले तत्काल लाभांश पाउने र भविष्यमा पनि कम्पनीले अनुमानित लाभांशका आधारमा प्रिमियम मूल्य तय गरिएको हो ।

भविष्य कस्तो प्रतिफल दिन्छ ?

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ छ । गत आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ पुर्याउने कम्पनीको योजना छ । नयाँ सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ हुनेछ ।

कम्पनीले निष्काशन गरेको विवरणपत्रमा आगामी दुई वर्ष कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने योजना देखिदैन । तसर्थ कम्पनीले बोनस सेयर वितरण गर्दै पुँजी वृद्धि गर्ने सम्भावना कम देखिन्छ । यदि बीमा समितिले कम्पनीको चुक्ता बढाएमा बोनस सेयरबाट पुँजी वृद्धि गर्ने बलियो आधार कम्पनीसँग देखिन्छ ।

विवेक झा

विवेक झा

‘हामी बीमा समितिले तोकेको न्यूनतम पुँजी मात्र लिएर काम गर्दैनौं, बजारको लिडर कम्पनीको नाताले हामी पुँजी र व्यापार दुबै बढाउँदै जानेछौं’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्–कुल जनसंख्याको करिव ४ प्रतिशतले मात्र बीमा गरेको छन्, बजार प्रशस्त छ, हामी पुँजी वृद्धिसँगै बजार विस्तारमा जोड दिनेछौं र प्रतिसेयर आम्दानी पनि वृद्धि गर्न सफल हुनेछौं ।’

नयाँ सेयर निष्काशन गर्दा कम्पनीले प्रिमियम मूल्यबाट मात्र ४ अर्ब १० करोड रुपैयाँ आम्दानी गर्छ । यो रकम तत्काल कम्पनीको जगेडा तथा संचित कोषमा जम्मा हुन्छ । कम्पनीको विवरणपत्रका उल्लेख भएअनुसार जगेडा तथा कोषहरुमा २०७३ असार मसान्तसम्ममा ९४ करोड रुपैयाँ छ । २०७४ असार मसान्तसम्ममा यो कोषमा ६ अर्ब ६९ करोड रुपैयाँ जम्मा हुने कम्पनीले जनाएको छ । ‘प्रिमियमबाट संकलन हुने रकम सेयरधनीकै हो र यसको अन्तिम लाभ सेयरधनीले नै पाउने हो’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले भने ।

कम्पनीको प्रतिसेयर नेटवर्थ हाल १४३ रुपैयाँ छ । २०७४ असार मसान्तसम्ममा यो बढेर प्रतिसेयर नेटवर्थ ३६९ रुपैयाँ हुने र दुई वर्षपछिको नेटवर्थ प्रतिकित्ता ५२१ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.