​१६ करोड लागतमा सदरमुकाममा खानेपानी योजना, दश हजार कर्मचारी लाभान्वित हुने

  २०७३ पुष २४ गते १४:०५     विकासन्युज

सल्यान, २४ पुस । जिल्लाको सदरमुकाममा वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ । साना सहरी विकास कार्यक्रममार्फत शारदा नगरपालिका–२, ३ मा पर्ने सल्यान सदरमुकाम खलङ्गामा खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको समस्या समाधान हुने भएको हो ।

लामो समयदेखि खानेपानीका लागि सास्ती झेल्दै आएका सदरमुकामवासीले आगामी माघ दोस्रो हप्तादेखि सास्ती व्यहोर्नु नपर्ने खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष तथा उपभोक्ता समिति खलङ्गाका उपाध्यक्ष केशव बुढाथोकीले बताए ।

आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको र पुसको अन्तिमसम्ममा पाइपलाइनमा परीक्षण गरिने बुढाथोकीले जानकारी दिएका छन् । शारदा नगरपालिका–२ शीतलपार्टीको शारदा नदी नजिकैबाट बोरिङ गरेर लिप्ट प्रणालीद्वारा ५०० मिटर उचाइमा रहेको सदरमुकाम बजारमा पानी पुर्याएर वितरण गरिने छ ।

आयोजनाबाट नगरपालिकाभित्र पर्ने १, २ र ३ वडाका एक हजार २५६ परिवारले सहज रुपमा खानेपानी पाउने छन् । साथै सदरमुकाममा बसोबास गर्ने र बाहिरबाट आएका कर्मचारी गरी १० हजार लाभान्वित हुने छन् । सदरमुकाममा दैनिक ७५ हजार लिटर पानी आवश्यक भए पनि पानी नहुँदा सल्यान, खलङ्गा सदरमुकामवासी विस्थापित हुँदै आएका थिए ।

खानेपानी सङ्कलन गर्न तीन ठाउँमा एक लाख लिटरका तीनवटा टङ्की र एक वटा ५० हजार लिटरको टङ्की निर्माण गरिएको छ ।
विश्व बैंकको १० करोड रुपैयाँ, नगर विकास समितिबाट ऋण तीन करोड २५ लाख रुपैयाँ र उपभोक्ताबाट दुई करोड ७५ लाख रुपैयाँको लागतमा योजना सम्पन्न हुन लागेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.