अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आयोगको आग्रह

  २०७३ मंसिर १७ गते १४:५४     विकासन्युज

national_human_rightsकाठमाडौं, १७ मंसिर । त्रिविवि शिक्षण अस्पतालमा लामो समयदेखि आमरण अनसनरत डा. गोविन्द के.सी.को मागहरुप्रति ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सक संघ नेपाल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल लगायतले मुलुकभर गरेको नियमित स्वास्थ्य सेवा बन्दप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोगले आजै गरेको अनुगमनबाट चिकित्सकहरुद्वारा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बिहीबार एक घण्टा र शुक्रबार दुइ घण्टाको लागि बन्द गर्दा घाइते तथा विरामीहरुको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको पाइएको छ । डा.के.सी.को आमरण अनसनका सम्बन्धमा निरन्तर अनुगमन गरी सार्थक वार्ता र संवादद्वारा समस्याको समाधान गर्न सम्बन्धित पक्षहरुलाई आयोगले यसअघि पटक–पटक आव्हन गरेको छ ।

स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्ने कार्य प्रचलित नेपालको संविधानको धारा ३५ द्वारा प्रदत्त मौलिक हक तथा उपभोक्ताको हकसम्बन्धी सर्वमान्य सिद्धान्त र प्रचलित कानून विपरीत भएको हुँदा यस्ता कार्यबाट आमनागरिकको स्वास्थ्यसम्बन्धी अधिकार कुण्ठित हुन गएको पाइएको छ । स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा बन्दका कारणले लाखौं मानिसको जीवन जोखिममा पर्नसक्ने तर्फ सचेत भई पेशागत मर्यादा समेत कायम राखी आफ्ना विरोधका कार्यक्रमहरु सञ्चालन गर्न आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.