नयाँ क्लियरिङ बैंकका लागि टेण्डर आव्हान गरिँदै

  २०७३ असोज ७ गते १५:४९     विकासन्युज

dev_guptaकाठमाडौं, ७ असोज । दुई हप्तापछि नयाँ क्लियरिङ बैंक स्थापनाका लागि टेण्डर आव्हान गरिने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दुई हप्तापछि नयाँ क्लियरिङ बैंकका लागि टेण्डर प्रक्रिया अघि बढाउन लागेको हो ।

‘प्राबिधिक तयारी सम्पन्न गर्न दुई हप्ता लाग्छ, त्यसपछि टेण्डर आव्हान गर्दैछौं’, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजसँग भने । उनले प्राबिधिक काम भएकाले धितोपत्र बोर्डको निर्देशन अनुसार पहिले नै क्लियरिङ बैंक थप्न नसकेको स्पष्टीकरण समेत दिए ।

नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि क्लियरिङ बैंकको संख्या कम्तिमा ३ वटा बनाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको थियो । माघ १३ गते बोर्डले निर्देशन दिएको भएपनि सिडिएसले चैतको अन्तिम साता थप क्लियरिङ बैंक आवश्यक नरहेको जवाफ बोर्डमा पठाएको थियो । तर धितोपत्र बोर्डले सिडिएसको जवाफ प्रति तिब्र असन्तुष्ठि जनाउँदै तत्काल कार्यान्वयन गर्न पुनः निर्देशन दिएको थियो ।

बोर्डले निर्देशन दिएको नौं महिना र कार्यान्वयन गर्न तोकेको समय सिमा नाघेको पाँच महिनापछि मात्रै सिडिएसले टेण्डर प्रक्रियाको पुर्व तयारी थालेको हो ।

‘एक महिना अघि सिडिएसले आफ्नो सफ्टवेयरको एएमसी( एन्युवल मेन्टिनेन्स कन्ट्रयाक) अघि बढेको र त्यसपछि क्लियरिङ बैंक थप्ने प्रक्रिाय अघि बढाउने जवाफ पठाएको थियो, त्यस यता थप कुरा बुझेको छैन’, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने ।

उनले पनि नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गरे । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा चेक राफसाफमा ढिलाई भएर लगानी कर्ताले सास्ती भोग्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.