साइकलप्रेमी मन्त्री हेलिकोप्टर चढेको भाडा तिर्न बाँकी, हेलिकोप्टर भाडा १७ लाख भन्दा धेरै

  २०७३ भदौ १७ गते २:२६     विकासन्युज

काठमाडौं १७, भदौ । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ । सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका थिए । त्यसपछि जिल्लाका कार्यक्रम जाँदा प्रायजसो हेलिकोप्टर चढ्ने गर्थे ।  Bisendra-Paswan-11

बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान मन्त्रीबाट बाहिरिएको एक महिना भइसकेको छ । तर, उनले भाडामा हेलिकोप्टर चढेको रकम अझै भुक्तानी भएको छैन ।

पासवानले मन्त्रालयको खर्च कम गर्ने तथा वातावरणमैत्री भन्दै सुरुमा साइकल चढेर मिडियामा प्रचारबाजी गरेका थिए । पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ नपाएपछि पासवान गौशालामा भाडाको घरमा बस्थे । गौशालादेखि मन्त्रालय उनले साइकलबाटै ओहोर–दोहोर गर्थे ।

पासवानको साइकल यात्रा एक महिनासम्म मात्र चलेको मन्त्रालयका एक कर्मचारीले बताए । ‘मन्त्रीज्यू करिब एक महिनासम्म त साइकलमा आउने–जाने गर्नुभयो,’ ती कर्मचारीले भने, ‘त्यसपछि साइकल छाडेर गाडीमै आउने–जाने गर्नुभयो ।’ मितव्ययी भन्दै साइकलप्रेमी बनेका तत्कालीन मन्त्री पासवान एक महिनापछि गाडीमा र त्यसपछि हेलिकोप्टर प्रयोगमा अगाडि देखिएका हुन् ।

मन्त्री छँदा पासवानले सेनाको हेलिकोप्टर पटक–पटक प्रयोग गरेका थिए । मन्त्रालयका अनुसार आफ्नो कार्यकालमा उनको हेलिकोप्टर भाडा मात्र १७ लाख रुपैयाँभन्दा धेरै पुगेको थियो । तर, पछिल्लो दुईपटक हेलिकोप्टर चढेको भाडा तीन लाख ७२ हजार नौ सय १४ रुपैयाँ मात्र उनले नबुझाएका हुन् ।

पासवानले काठमाडौंदेखि गौर, राजापुर गोलठा भन्ने ठाउँमा जाँदा दुई घन्टा ३५ मिनेटको दुई लाख १६ हजार ६ सय ७० रुपैयाँ र काठमाडौं–सिरहा ओहोर–दोहोर गर्दाको एक घन्टा ४५ मिनेटको एक लाख ५६ हजार दुई सय ४४ रुपैयाँ भाडा रकम बुझाउन बाँकी रहेको सैनिक स्रोतको भनाइ छ । नयाँपत्रिका दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.