सन् १९१५ अघि नेपालको व्यापार भारतसँग भन्दा चीनसँग बढी

  २०७२ मंसिर ७ गते १६:४१     विकासन्युज

bikashnews.com

टंक कार्की

नेपाल र चीनका बिचमा १९५५ मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापित भएको हो तर सातौै शताब्दीको पूर्वार्धदेखि नै अर्थात भृकुटीको विवाहदेखि नै दुई देशबीच सम्बन्ध थियो । वुद्धका बारेमा पहिलो शताब्दीदेखि नै चिनियाँ राजाप्रसादमा नेपालका बारेमा लेखिएको भेटिन्छ । सन ४०५ मा फासियान नेपालमा आएका थिए भने ४०९ मा बुद्धभद्र चीन गएका थिए । नेपाल र चीनबिचको सम्बन्ध निकै पुरानो हो र त्यसलाई अझै बलियो बनाउने उदेश्यसहित म चीन गएको थिएँ ।

चिनियाँ नेतृत्व सधैं नेपालमा शान्ति र स्थायीत्व चाहेको मैले बुझेको छु । नेपालको आर्थिक विकास र यहाँ लगानी गर्न चिनियाँ सरकार र त्यहाँका लगानीकर्ता उत्सुक थिए । तर हामीले त्यसलाई क्यास गर्न सकेनौं । चिनियाँ लगानीलाई नेपालमा भित्र्याउन र नेपालको विकासमा चिनियाँ सहयोग र सुभेक्षाको हामीले सदुपयोग गर्न सकेनौं । म राजदूत भएर चीन जाँदा जम्मा जम्मा बार्षिक १० हजार चिनियाँ पर्यटक नेपाल आउने गरेका थिए तर म फर्किदा त्यो संख्या बार्षिक ७५ हजार पुगेको थियो । अहिले त्यो ढेड लाखको हाराहारीमा पुगेको छ ।

जिन्ताओको सद्भाव
तत्कालिन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई मैले ओहदाको प्रमाण पत्र बुझाउँदा १० मिनेट भेट गर्ने अवसर पाएको थिएँ । मेरा लागि जम्मा तीन मिनेट समय दिईएको थियो तर कुरा गर्दै जाँदा १० मिनेट कुरा गरियो । जिन्ताओले नेपालका बारेमा आफू जानकार रहेको बताएका थिए । आफू तिब्बतमा बस्दा नेपालका बारेमा धेरै अध्ययन गर्ने अवसर पाएको जिन्ताओको भनाई थियो । फासियान नेपालबाट चीन फर्किपछि चीनले नेपालका बारेमा जानकारी पाएको बताएका थिए । मैले त्यो भन्दा पहिले पनि नेपाल र चीनबीच सम्बन्ध थियो भनेको थिएँ । मेरै कार्यकालमा चिनियाँ प्रधानमन्त्री वेनजिआ वाओको नेपाल भ्रमणको मिति तय भएको थियो । पछि सुरक्षा चुनौतीका कारण त्यो समय पछि सर्यो र वेनले पछि नेपालको भ्रमण गरे ।

संसारले नै चिनियाँ विकासबाट आर्थिक लाभ लिने प्रयास गरिरहेका छन् । तर हामीले छेउकै छिमेकीलाई बुझ्न सकेनौं । १४ सय किलोमिटर सिमाना जोडिएको र हामीप्रति असल सद्भाव राख्ने मुलुकबाट पनि लाभ लिन नसक्ने हामी कस्ता ? हामी चिनियाँ लाभ लिन कुशल रणनीतिकार बन्न सकेनौं ।

तिब्बतमा रेल आईसकेपछि त्यसलाई नेपालको सिमासिम्म र त्यहाँबाट काठमाडौंसम्म ल्याउने योजनाका बारेमा मेरै कार्यकालमा पनि बनेको हो । चीन सरकारले नै २०२२ सम्ममा सिगात्से हुँदै नेपाली सीमा नाकासम्म रेल ल्याउनेबारे योजना बनाएको थियो ।

हिमाल सम्बन्धको पर्खाल होईन
चीनतर्फ हिमाल र भारततर्फ समथर भूभागले हामी जोडिएका छौं । पहिलो हिमाल भनेको चीनसँगको अभेद्य पर्खालका रुपमा हेर्ने गरिएको छ । त्यो पुरानो चस्मा हो । १९१५ सम्मलाई हेर्ने हो भने भारत भन्दा चीन नै नेपालको ठूलो व्यापारिक साँझेदारका रुपमा रहेको थियो । आजको युगमा हिमाल भनेको व्यापारिक सम्बन्धका लागि पर्खाल होइन । चीनसँग मोटरेबल बाटो बनिसकेको छ । रेलवेको अवधारणा अघि आईकसको छ । यसले हिमाललाई पर्खालका रुपमा अथ्र्याउने मान्यतालाई गलत सावित गरिदिएको छ । तर हामीले आफ्नैतर्फ भने सडक र पूर्वाधार विकास गर्न यथोचित ध्यान दिन सकेनौं ।

हामीले चीनसँगको आर्थिक व्यापारिक सम्बन्धलाई महत्व नदिएको तथ्य कसैबाट छिपेको छैन् । चिनियाँ नाकासम्म पुग्ने पूर्वाधार विकासमा राज्यभित्रकै केहि शक्तिहरुले पनि भूमिका खेलेको हुनसक्छ । हामीमा दुरदृष्टि थिएन भन्ने पुष्टि भैसकेको छ । यदि त्यस्तो हुँदो हो त आज भारतले नाका बन्दी लगाईसकेपछि चीनबाट सहजै समान ल्याउने अवस्था बन्ने थियो ।

सित युद्धपछि एकथरी नेपालीहरु भारतको नाम सुन्दै नाक खुम्चयाउने अनि केहिले चीनको नाम सुन्ने वित्तिकै नाक कुम्चयाउने संस्कार बस्यो । यसले पनि चीनसँगको आर्थिक व्यापारिक सम्बन्धलाई महत्व दिईरहेका थिएनौं ।

हामी एन्टि चाईनिज वा एन्टि इण्डियन कार्डका पक्षपाती होईनौं र हाम्रो चाहना पनि त्यो होईन् । हामी न उत्तरतर्फ ढकिल्कन्छौं न दक्षिण तिर नै ढल्किन्छौं । हामीले त नेपालको राष्ट्रिय स्वार्थ भित्र सिधा उभ्भिन चाहेका मात्रै हौं । हामीले सिधा उभिँदा कसैतर्फ वैरभाव राख्नु पर्छ भन्ने छैन र हामी राख्दैनौं पनि ।

हाम्रा लागि भारत र चीन दुबै अपरिहार्य छिमेकी हुन् । फेरी छिमेकी बदल्न पनि सकिन्न । हामीले भारत वा चीनमध्ये कुनै पनि मुलुकलाई निषेध गर्ने कुरा सम्भव छैन र त्यो गर्नु पनि हुन्न । ७३ प्रतिशत व्यापार भारतसँग मात्रै आश्रित नभैदिएको भए अहिले नेपालले यति दुःख पाउने अवस्था आउँदैनथ्यो । एउटै मुलुकसँगको निर्भरता आत्महत्या जस्तै हुने रहेछ । हामीले सबै तिरका झ्याल ढोकाहरु खुल्ला राख्नु पर्ने रहेछ । त्यसो भयो भने एउटा झ्याल वा ढोका बन्द हुँदा अर्काेबाट सुरक्षित अवतरण गर्न सकिन्छ । भारतीय नाका बन्दीले एकतिरको ढोका मात्रै खोलेर बस्नु हुन्न भन्ने पाठ पढाएको छ ।

हामीले आफ्नो तर्फको पूर्वाधार विकास गर्न सक्यौं भने चीनको माथिल्लो हेलुङज्याङबाट काठमाडौं हुँदै दिल्लीसम्म एक हप्तामा पुर्याउन सकिन्छ । त्यसका लागि हामीले नेपालतर्फको सडक र भौतिक पूर्वाधारको विकास भने राम्रोसँग गर्न सक्नुपर्छ ।

पहाडमा एण्टी इण्डियन, मधेशमा एण्टी चाईनिज सेन्टीमेण्ट
पहाडमा भारतका विरुद्ध जनमत बढेको देखिन्छ भने मधेशमा चीनका विरुद्ध जनमत बढिरहेको छ । यसले केहि खतराको संकेत त गरेको छ तर पनि यो धेरै दिन रहँदैन् । नयाँ संबिधानका बारेमा समूदायस्तरका जनतालाई बुझाउने वित्तिकै यो समस्याको समाधन स्वत हुन्छ । जहाँ अभाव र गरिबी हुन्छ त्यहाँ रडाको स्वभाविक हुन्छ । त्यहाँ चेतनाले कामै गर्दैन् । त्यसकारण पनि अब न्योचित विकास र त्यसको वितरणको ग्यारेण्टी गरिनु पर्छ ।

अहिले सरकारले चीनसँग इन्धनको व्यवसायीक कारोबारका लागि अन्तिम सम्झौताको तयारीमा छ । भारती मिडियाहरुले पनि नेपालले सुरु गरेको भारत माथिको निर्भरता घटाउने अभियानको महशुस गरिरहेका छन् । भारतले हामीलाई जनु हुर्मत भोगायो त्यसले हाम्रो चेत खुलेको छ । अब हामीलाई भारतीय अम्ब्रेलाबाट बाहिर पनि संसार छ भन्ने महसुश गराईदिएको छ । यसलाई हामीले भारत बिरोधी कार्डका रुपमा नभएर आफ्नै खुट्टामा उभिने अवसरका रुपमा प्रयोग गर्नु पर्छ ।

नेपालाई तातोपानी, चीनलाई केरुङ
नेपालका लागि चीनसँगको व्यापारका लागि तातोपानी नाका उत्तम विकल्प हो । त्यसका लागि हाम्रो तर्फ कालोपत्रे सडक सञ्जाल पनि छ । तर चीनका लागि तातोपानी नाका त्यहि सहज छैन । चीनले सन २०२२ सम्ममा नेपालको सिमासम्ममा रेलवे सेवा विस्तार गर्ने भनेको छ । त्यसका लागि तातोपानी नाका तर्फको भूगोल उपयुक्त छैन् । भौगोलिक कठिनाईका कारण चीनले तातोपानीको विकल्पका रुपमा केरुङलाई अघि सारेको हो । त्यसमा पनि बैशाख १२ गतेको भूकम्पले खासा तर्फको बस्ती नै जोखिममा पारिदिएको छ । त्यस कारण पनि चीनले केरुङ नाकालाई प्राथमिकतामा राखेको हो । अब नेपालले पनि केरुङ नाकालाई प्राथमिकतामा राख्दै सडक र अन्य पुर्वाधारका लागि फास्ट ट्रयाकमा काम थाल्नु पर्छ । त्यसका अलवा केहि बर्षभित्रैमा नेपाल र चीनका अन्य आठ वटा नाका पनि सञ्चालन गर्न सकिने अवस्थामा छन् । जस्तै मुस्ताङको कोरला नाका केहि प्रयास गर्नेवित्तिकै सञ्चालनमा ल्याउन सकिन्छ । ताप्लेजुङको ओलाङचोङगोला नाका, दार्चुलाको टिंकर नाका, दोलखाको लामबगर नाका, संखुवासभाको किमाथांका नाका, गोरखाको लार्के लगायतका नाकाहरुमा पुर्वाधार विकासका कामलाई तिब्रताका साथ अघि बढाउनु पर्छ । (चीनका लागि पूर्व नेपाली राजदुत कार्कीसँग कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.