यहि त हो विकास

  २०७१ मंसिर १० गते १३:०१     विकासन्युज

१८ वर्षदेखि अवरुद्ध पन्चेश्वर विकास प्राधिकरणको कार्य अगाडि बढेको छ । ६ बर्षदेखि रोकिएको अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता (पिडिए) भएको छ । दिल्ली–काठमाडौं सिधा बस सेवा सुरु भएको छ । काठमाडौं–कोलम्बो सिधा हवाई सेवा सुरु हुन लागेको छ । पोखरा र भैरहवामा अन्तराष्ट्रिय विमानस्थल बन्ने प्रक्रिया सुरु भैसकेको छ ।
अहिलेको सहमति अनुसार काम भयो भने आगामी १० वर्ष भित्रमा पन्चेश्वरमा ३ खर्ब ३६ अर्ब, माथिल्लो कर्णालीमा १ खर्ब १६ अर्ब र अरुण तेस्रोमा १ खर्ब ४ अर्ब रुपैयाँ लगानी हुनेछ । तीनवटा परियोजनामा मात्रै १० वर्षभित्रमा ५ खर्ब ५६ अर्ब रुपैयाँ लगानी हुदैछ । कुनैपनि देशको विकासको लागि छोटो समयमा हुन लागेको यो निकै धेरै लगानी हो ।
नेपालको जलविद्युत क्षेत्रमा भारतको मात्रै लगानी आउदै छैन, सँगै विश्व बैंक, एशियाली विकास बैंक जस्ता वहुराष्ट्रिय दातृ निकायको लगानी पनि आउदैछ । यस्तै जापान, बेलायत, युरोपेली युनियन, अमेरिका, चीन जस्ता मुलुक र संगठनहरुले पनि पछिल्लो समयमा सहयोगको रकम र प्रतिवद्धता बढाएका छन् ।
अफ्रिकाका ”ड्याङगोट समूहले ५७ अर्ब र भारतको रिलाइन्स समूह करिव ४० अर्ब लगानी गरेर नेपालमा सिमेन्ट उद्योग खल्दै छन् । गैरआवासीय नेपाली शेष घलेले करिव ८ अर्ब लगानी गरेर नेपालमा भएको मध्ये सबैभन्दा ठूलो होटल बनाउँदैछन् । नेपालीहरुकै लगानीमा करिव १० हजार रुम क्षमतावृद्धि गर्दै होटलमा लगानी गरिरहेको छन् । पूर्वाधार तथा उद्योगमा स्वदेशी तथा विदेशी लगानी आकर्षित भएको छ ।
कुनै पनि देशको कुनै परियोजनामा आउने लगानीमा पैसा एक्लै आउदैन । पैसासँगै प्रविधि र विकासका अन्य सहायक तत्व पनि आउँछ । परियोजना स्थलसम्म जाने सडक मार्ग निर्माण हुन्छ, परियोजनामा काम गर्नेहरुको लागि होटल तथा व्यापारिक गतिविधि बढ्छ । समग्रमा यस्तो विकासले सम्वृद्धि ल्याउछ ।
नेपाल लोडसेडिङ मुक्त हुन अब धेरै वर्ष कर्नु नपर्ला । त्यसपछि उद्योग क्षेत्रमा पनि लगानी बढ्दै जानेछ । यस्तो लगानीले सिर्जना गर्ने रोजगारीका अवसर सिर्जना गर्छ । श्रमिकको क्रय क्षमता बृद्धि हुन्छ । उत्पादन वृद्धि हुँदै जान्छ ।
आम मानिसले विकासको काम सुरु हुँदा त्यसको अन्तिम परिणाम कस्तो होला र कहिले बनिसक्दा भन्ने अनुमान गर्न सक्दैनन् । काठमाडौंको तीनकुनेदेखि माइतीघरसम्म जम्मा ४ किलोमिटर सडक बनिसक्न ४ वर्ष लाग्यो । अझै पनि बागमती र धोबीखोलामा पुल बन्न सकेको छैन । तर पनि सो सडक खण्ड साच्चिकैको आकर्षक देखिएको छ । बनिसकेपछि मात्रै यो त निकै राम्रो बनेछ भन्ने प्रतिक्रिया जनाउने पनि धेरै भेटिएका छन् । त्यसैले प्रमुख विषय भनेको काम सुरु हुनु हो । अहिले जलविद्युत र पूर्वाधारको क्षेत्रमा काम सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.