सेयर काराेबार १९ करोडमा खुम्चियो, नेप्से घटेर ११३७ अंकमा

  २०७६ असोज २९ गते १५:२५     विकासन्युज

काठमाडौं । नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबारको कारोबार रकम जम्मा १९ करोड ६६ लाख रुपैयाँमा खुम्चिएको छ । सोमबारभन्दा मंगलबार बढी भएको कारोबारमा बुधबार भने करिब ३ करोड रुपैयाँ कम सेयर कारोबार भएको छ । गत मंगलबारको बजारमा २२ करोड रुपैयाँ बराबरको सेयर किनेबेच भएको थियो ।

न्युन रकमको कारोबार भएको बजारमा दुई कम्पनीको भने करोडौंको सेयर किनबेच भएको छ । प्रभु बैंकको सबैभन्दा बढी ५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबारको नेप्से ५.०१ अंकले घटेर ११३७.०३ अंकमा झरेको छ । मंगलबार ५ अंकले उकालो लागेको नेप्से बुधबार बराबर अंकले घटेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.४४ प्रतिशत घटी हो ।

बजारमा तीन समूह बाहेक बाँकी समूह सूचक राताम्मे भएका छन् । विकास बैंक ७.४३, हाइड्रोपावर २.७६ र म्युचअल फण्ड ०.०१ अंकले उकालो लागेका छन् भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी १८.९४ अंकले घटेको छ ।