मार्जिन कारोबारमा क्रिष्टलले कति लिन्छ ब्याजदर ?

  २०७६ असोज १४ गते १८:३६     विकासन्युज

काठमाडौं । मार्जिन कारोबारका लागि कार्यविधि पारित गरि बाटो खुला गरेको क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिजले कारोबारमा लगानीकर्तासँग लिने ब्याजदर तोकेको छ । क्रिष्टलले बैंकबाट लिएको ब्याजदरमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम ब्याजदर तोकेको हो ।

कारोबारको आकार र समयका आधारमा बैंकले सेक्युरिटिजसँग लिने व्याजभन्दा ३ देखि ६ प्रतिशत ब्याज थपेर ब्याजदर निर्धारण गर्ने ब्रोकर एसोशियसनका पूर्व अध्यक्षसमेत रहेका सेक्युरिटिजका अध्यक्ष प्रियराज रेग्मीले बताए ।

मंगलबार(असोज १४ गते) मात्र कम्पनीलाई मार्जिन कारोबार संचालन गर्न बाटो खुला भएको छ । मार्जिन सुविधा सुरु गर्ने याे पहिलो ब्रोकर कम्पनी हाे । उक्त कारोबारको लागि इच्छुक ग्राहकले विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने छ । “यसका लागि ग्राहकले पहिले निवेदन दिनु पर्नेछ । त्यसपछि नयाँ डिम्याट खाता खोल्नु पर्ने, ब्रोकरसँग सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि उसले कतिसम्म मार्जिन पाउने, कति ऋण पाउने सबै उल्लेखित हुन्छ । यदि सेयर किन्नु पर्यो भने आफुले कति सेयर किन्न चाहेको हो त्यसको आधारमा उसले प्राप्त गर्ने ऋण भन्दा बाहेकको पैसा अग्रिम रुपमा मार्जिनको रुपमा बुझाउनु पर्ने छ । त्यसपछि बल्ल इच्छुक सेयरधनीले सेयर किन्न पाउने छन् । ”- अध्यक्ष रेग्मीले विकासन्युजसँग भने ।

अन्य बाँकी कार्यविधि नेप्सेको जस्तै हुने छ । कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश दिएको कम्पनीलाई मार्जिन दिन सकिने व्यवस्था गरिएको छ । दोस्रो बजारमा कम्तीमा पनि दैनिक ८० प्रतिशत सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीले मात्रै मार्जिन सुविधा पाउने प्रावधान छ ।